२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


शीतलहर र चिसोका कारण तराईमा १० जनाको मृत्यु


0
Shares

शीतलहर र चिसोका कारण सप्तरीमा सात र सिरहामा तीनजनाको मृत्यु भएको हो ।

सिरहा गोलबजार नगरपालिका–२ का ७० वर्षीय रामप्रसाद महतो र वडा नम्बर ४ का ६ वर्षीय लवकुमार साहको शनिबार मृत्यु भएको हो । त्यसैगरी, धनगढीमाई नगरपालिका–७ का ५५ वर्षीय रामरतन महतोको पनि चिसोका कारण गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, सप्तरीमा चिसोकै कारण सातजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महदेवा गाउँपालिका–२ अकवरपुरका ५८ वर्षीय सुकदेव यादव, राजविराज नगरपालिका–१० झल्हीका ६५ वर्र्षीया कैलीदेबी खंग र वडा नम्बर–२ का ६० वर्षीय नाजो बेगम रहेका छन् ।

यसअघि छिन्नमस्ता गाउँपालिका–१ वरहीका ३५ वर्षीय रामदयाल राम, वीरपुरका ३६ वर्षीय कुलदिप राय र ७२ वर्षीया रजियादेवी रायको चिसोकै कारण मृत्यु भएको थियो ।

अत्यधिक चिसोले बिरामीको संख्यासमेत बढ्दै गएको छ । अस्पतालहरुमा चिसोबाट प्रभावित भएकाको भीड लागेको छ । शितलहरका कारण सर्वसाधारणलाई घरबाहिर निस्कन समस्या भएको छ । विद्यार्थी विद्यालय आउन नसकेपछि जिल्ला शिक्षा कार्यालयले सप्तरीका सबै ४१२ ओटै सामुदायिक विद्यालय २६ गतेसम्मका लागि बन्द गराएको छ । निजी विद्यालय पनि बन्द गर्ने तयारी भइरहेको प्याब्सनका जिल्ला अध्यक्ष पञ्चदेव यादवले जानकारी दिए ।

महोत्तरीमा पनि एक सातादेखि बढेको बाक्लो हुस्सु र शितलहरले जनजीवन प्रभावित बनेको छ । बढ्दो शितलहरका कारणले जिल्ला शिक्षा कार्यालयले सामुदायिक विद्यालयमा एकहप्ता विदा दिने निर्णय गरेको छ । कार्यालयले निजी विद्यालयमा पनि बिदा दिन आह्वान गरेको छ ।

स्थानीय तहहरुले चिसो र शितलहरबाट राहतका लागि ठाउँ–ठाउँमा आगो ताप्ने व्यवस्था गर्न दाउराको व्यवस्था गरेको छ । कतिपय स्थानीय तहले दलित वस्तीमा न्यानो कपडासमेत वितरण गरेका छन् ।