
खासगरी सुदूरपश्चिमको अछाम जिल्लामा पाईने नौ मुठे गाईको संरक्षणका लागि जिल्ला पशु सेवा कार्यालय र कृषकहरु जुटेका छन् । कृषकहरुले संरक्षण गर्न थालेपछि जिल्लामा नौ मुठे गाईको संख्यामा वृद्धि भईरहेको पशु सेवा कार्यालय अछामले जनाएको छ ।
अछामी नौ मुठे गाईको प्रचार प्रसारसँगै संख्यामा पनि वृद्धि हुँदै गएको देखिन्छ । विश्वकै होचो नौ मुठे गाई लोप हुन थालेपछि यसको संरक्षणका लागि प्रयास भइरहेको हो ।
नौ मुठे गाईको महत्व थाहा पाएपछि कृषकहरु समेत यसको संरक्षणमा जुटेका छन् । पाल्न सजिलो, पोषिलो दूध र धार्मिक महत्वका कारण नौ मुठे गाई पाल्न थालेको कृषकहरुको भनाइ छ ।
कुनै पनि पोथी जीवजन्तु संसारमै एक हजारभन्दा कमको संख्यामा मात्रै रहन पुग्यो भने तिनलाई लोपोन्मुख अवस्थामा रहेको उल्लेख गरिन्छ । अछाममा नौ मुठे गाई पनि संसारमै एक हजारभन्दा कम संख्यामा रहेको एक अध्ययनले देखाएको छ । संरक्षणको प्रयास भएपछि नौ मुठे गाईको संख्या बढ्दै गएको जिल्ला पशु कार्यालय अछामको दावी छ ।
कार्यालयका अनुसार गाईको संख्या ३ सय ७८ बाट बढेर ४ सय ४७ पुगेको छ । साविकका ८ वटा गाविसमा मात्रै रहेका नौ मुठे गाई विस्तार हुँदै १५ गाविसमा पुर्याईएको छ ।
यो वर्ष पनि अछामी नौ मुठे गाईको तथ्याङ्क संकलन भईरहेको साँफेबगर नगरपालिका पशुसेवा शाखा प्रमुख पदमबहादुर थापा बताउँछन् ।
अछामी गाई अन्य जातको साँढेसँग क्रस गराउने प्रक्रियाले चुनौती थपिएको छ । अछामी गाईसँग ठूलो उन्नत जातको साँढेसँग क्रस गराउँदा बाच्छा/बाच्छी ठूलो हुने हुँदा नौ मुठे गाई लोप हुने अवस्थामा पुगेको छ ।
जिल्ला बाहिरवाट ल्याउने साढेको बन्ध्याकरण गरेरमात्रै भित्र्याउने र अछामी गाईको साँढेसँग मात्र प्रजनन् गराउनको लागि कृषकहरुलाई सुझाव सल्लाह दिने गरेको शाखा प्रमुख थापाको भनाइ छ ।
नौ मुठे गाईको संरक्षणका लागि निकै ठूलो चुनौती भनेको गर्भधारण पनि हो । नौ मुठे जातको साढे बाहेक अन्यबाट गर्भधारण भयो भने क्रस हुने समस्या रहेको छ । संरक्षण अभियानलाई प्रभावकारी बनाउनको लागि सरोकारवालासँग छलफल गर्न आवश्यक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्