२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


भौतिक संरचनाको स्तरोन्तति नहुँदा बेनी अस्पतालको सेवा प्रभावित


0
Shares

गुणस्तरीय स्वास्थ्य सेवा र तीब्र प्रशासनिक सुधारका कारण स्वास्थ्य मन्त्रालयले दुई वर्षअघि बेनी अस्पताललाई ५० शैयामा स्तरोन्तति गर्ने निर्णय गरेको थियो ।

अस्पतालको भौतिक पूर्वाधार निर्माणका लागि प्रसुती, बहिरंग र दन्त विभाग रहेको भवनलाई भत्काएर नयाँ भवन निर्माण शुरु गरिएको हो ।

तर भवन निर्माणमा भएको ढिलासुस्तीका कारण यसअघि दिँदै आएको सेवासमेत अस्पतालले उपलब्ध गराउन सकेको छैन ।

ती विभागहरु यसअघि रहेको स्टोर कक्ष तथा बहिरंग विभागकै अर्को भवनको एउटा कुनाबाट सञ्चालन गरिँदै आएको छ ।

४ हजार ९ सय ६३ वर्गमिटर क्षेत्रफलमा निर्माण हुने ४ तले भवनको निर्माण सम्झौता २०७३ साल मंसिर २१ गते भए पनि एक वर्ष ढिला गरी हालै मात्र निर्माण प्रक्रिया अघि बढेको छ ।

निर्माण प्रक्रिया ढिला सुरु हुनु, पुराना संरचना भत्काइनु र निर्माणका बेला अस्पताल परिसरमा हुने प्रदूषणका कारण अस्पतालले यसअघि हासिल गरेको साख खस्किँदै गएको छ ।

२४ करोड ४ लाख २९ हजार, ८६९ रुपैयाँ लागत अनुमान गरिएको भवन निर्माणको ठेक्का महादेव खिम्ती ज्वाला सफिना जेभीले १८ करोड ८४ लाख आठ हजार ८९ रुपैयाँमा लिएको छ ।