१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


पार्टी एकताबारे एमाले र माओवादी केन्द्र आन्तरिक छलफलमा


0
Shares

दुई दलका अध्यक्षबीच पार्टी एकता प्रक्रियालाई छिट्टै टुंगो लगाउने सहमति भएपछि आज दुवै दलका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् ।

पार्टी एकता र सरकार गठनको विषयमा छलफल गर्न एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो २ बजे बस्ने बैठकमा पार्टी एकता, सरकार गठन र राष्ट्रिय सभाको निर्वाचनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

यस्तै नेकपा माओवादी केन्द्र पनि पार्टी एकताको विषयमा आन्तरिक छलफलमा जुटेको छ ।

बैठकको समय तय नभइसकेको भए पनि पार्टी एकताबारे आज नेताहरुबीच छलफल हुने प्रवक्ता पम्फा भुसालले जानकारी दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच हिजो भएको छलफलमा कार्यदल बनाएर एकीकृत पार्टीको वैचारिक र संगठनात्मक संरचना टुंग्याउने सहमति भएको थियो ।

दुई शीर्ष नेताबीच आन्तरिक छलफलका लागि सोमबार पार्टी बैठक डाक्ने र मंगलबार पार्टी एकता संयोजन समितिको बैठक राख्ने सहमति पनि भएको थियो ।

मंगलबार बस्ने संयोजन समिति बैठकले कार्यदल गठन गरेर त्यसको कार्यक्षेत्र तोक्ने तयारी छ ।