
प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै आमरण अनसनमा बसेका डा. केसीलाई सोमबार सर्वोच्च अदालतको आदेशमा प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएका केसीलाई कडा सुरक्षाका बीच प्रहरीले बुधबार पौने नौ बजे नै सर्वोच्च अदालतमा उपस्थित गराएको हो ।
अदालतको अवहेलना गरेको ठहर भए केसीले एक वर्षसम्म जेल बस्नुपर्ने हुन्छ । न्याय प्रशासन ऐन, २०७३ मा अदालतको अपहेलनासम्बन्धी मुद्दामा के गर्ने भन्ने विषयमा व्यवस्था गरिएको छ । ऐनको दफा १७ मा अदालतको अपहेलनासम्बन्धी मुद्दाका बारेमा उल्लेख छ ।
ऐन अनुसार अदालतको अपहेलना मुद्दामा दोषी ठहर हुने व्यक्तिलाई एक वर्ष जेल सजाय वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । यस्तै अरु उपयुक्त कारवाही गर्न सक्ने व्यवस्था पनि ऐनमा छ । तर दोषीले अदालतलाई चित्त बुझ्नेगरी माफी मागेमा कारवाही मुद्दा तामेलीमा राख्न सकिने पनि ऐनमा उल्लेख छ ।
यस्तै, दोषी ठहर भइसकेपछि पनि दोषीले अदालतलाई चित्त बुझ्ने गरी माफी मागेमा कारवाही रोक्न सकिने ऐनमा व्यवस्था गरिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले डा. केसीलाई पक्राउ गरी अदालतमा पेश गर्न आदेश दिएको थियो । अदालतको अवहेलना मुद्दामा केसीलाई पक्राउ गरी अदालतमा हाजिर हुन उपस्थित गराउनु भनी गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा सर्वोच्चले आदेश दिएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
सर्वोच्च अदालतले करिब साढे ४ बजे केसीलाई पक्राउ गर्न आदेश दिएको थियो । त्यसलगत्तै प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका नाममा पक्राउ आदेश दिएको थियो । त्यसपछि महानगरीय प्रहरी परिसरका एसपी रामदत्त जोशी नेतृत्वको टोलीले केसीलाई पक्राउ गरेको हो ।
डा. केसीले आफूलाई जेलमा राखिए त्यहीँ अनसन बस्ने चेतावनी दिएका छन् ।
यसैबीच, डा. गोविन्द केसीको समर्थनमा काठमाडौंको माइतीघर मण्डलामा बिहानैदेखि प्रदर्शन शुरु भएको छ । डा. केसीका समर्थकहरुले उनको रिहाइ र सर्वोच्चको फैसलाको खारेजीको माग गर्दै प्रदर्शन गरेका हुन् ।
माइतीघरको प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र लगायत सहभागी भए । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वस्वास्थ्यमन्त्री गगन थापाले समेत प्रदर्शनकारीहरुलाई आफ्नो साथ रहेको घोषणा गरेका छन् । प्रदर्शनमा राजनीतिक दलका नेतादेखि विभिन्न पेसाकर्मी सहभागी छन् । प्रहरीले सर्वोच्च अदालत वरपर कडा पहरा दिइरहेका छन् ।
चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा शशी शर्मालाई पुनर्वहाली गर्ने सर्वोच्चको आदेशपछि डा. केसी प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै सोमबार अनसनमा बसेका थिए ।
प्रतिक्रिया दिनुहोस्