
मुलुकको राजधानीसमेत पर्ने यो प्रदेशमा १३ ओटा जिल्ला समेटिएका छन् ।
२० हजार ३०० वर्गकिलोमिटरमा फैलिएको प्रदेश नम्बर–३ मा सन् २०११ को जनगणनाअनुसार ५५ लाख ३० हजार जनसंख्या छ । प्रायः सबै वर्ग, जातजाति रहेको यस प्रदेशमा साना तथा ठूला सहरको सम्मिश्रण रहेको छ ।
सबैभन्दा बढी महानगरपालिका भएको प्रदेश पनि यही हो । काठमाडौं, ललितपुर र भरतपुर गरी तीनओटा महानगरपालिका यस प्रदेशमा छन् ।
एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित तीनओटा विमानस्थल रहेको यस प्रदेशमा पर्ने १३ जिल्लाका सदरमुकामलाई राजधानीबाट पक्की सडकले छोएको छ ।
महेन्द्र राजमार्ग र पृथ्वी राजपथका अतिरिक्त बनेपा–बर्दिबास बीपी राजमार्गसहित काठमाडौं–तराई जोड्ने द्रुतमार्ग र काठमाडौं–हेटौंडा सुरुङमार्ग पनि यही प्रदेशमा पर्छ ।
चीनसँग जोडिएका दुई नाका तातोपानी र रसुवागढी यही प्रदेशमा छ । सबैभन्दा बढी औद्योगिक क्षेत्र पनि यहीँ छ । बालाजु, पाटन, भक्तपुर औद्योगिक क्षेत्रसहित हेटौंडा औद्योगिक क्षेत्रसमेत यही प्रदेशमा छ । जहाँ सबैभन्दा बढी उद्योग छन् ।
राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा कम गरिबी दर १२ प्रतिशत रहेको प्रदेश–३ हो भने नेपाल मानव विकास प्रतिवेदनअनुसार प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान पनि ३ नम्बर प्रदेशको नै रहेको छ । सबैभन्दा बढी आम्दानी भएका जनता पनि यही प्रदेशमा छन् ।
यस प्रदेशका जनताको वार्षिक प्रतिव्यक्ति आम्दानी १३५७ डलर रहेको जनाइएको छ । कृषि तथा पशु क्षेत्रको उत्पादनमा पनि उल्लेखनीय भूमिका ३ नम्बर प्रदेशकै छ । कृषिको योगदान २६ प्रतिशत छ भने पशुको २० प्रतिशत रहेको जनाइएको छ ।
प्राकृतिक एवं पर्यटकीय हिसाबले पनि सबैभन्दा धनी प्रदेशकोरुपमा यसलाई लिइन्छ ।
पशुपतिनाथका साथै विश्वसम्पदा सूचीमा परेका स्थलहरु दरबार स्क्वायर, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, स्वयम्भूनाथ, बौद्धनाथ, नेपाली जामे मस्जिद एवं ठूला गुम्बा यही प्रदेशमा छन् ।
चितवन राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्ज र शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज रहेको यो प्रदेशमा रसुवागढी, गोसाइँकुन्ड, गौरीशंकर, लाङटाङ हिमशृंखला पनि छन् ।
प्राकृतिक साधन र पर्यटन यस प्रदेशको प्रमुख आम्दानीका स्रोत हुन् । निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्यभोटेकोसी यही प्रदेशमा पर्छन् ।
यस्तै, ४ नम्बर प्रदेशमासमेत पर्ने १२०० मेगावाटको बूढीगन्डकी, १११० मेगावाटको सुनकोसी दोस्रो, ५२६ मेगावाटको सुनकोसी तेस्रो, ६५० मेगावाटको तामाकोसी तेस्रो, २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ यही प्रदेशमा छन् ।
सन्चालन भइरहेका ९२ मेगावाटको कुलेखानी, ६० मेगावाटको खिम्ती र ४५ मेगावाटको भोटेकोसी पनि यहीँ छन् । साना–ठूला गरी ३८ ओटा जलविद्युत् आयोजनाहरु यस प्रदेशमा छन् ।
कृषि तथा वन विश्वविद्यालय हेटौंडाका डीन डा. बलराम भट्ट प्राकृतिक एवं ऐतिहासिक सम्पदाका अतिरिक्त मानवस्रोतको उचित प्रयोग गर्न सकिएमा प्रदेश नम्बर–३ सबैभन्दा बलियो प्रदेशकारुपमा आउने बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्