
पूर्णप्रसाद न्यौपाने
ओखलढुंगा, मंसिर २८ । ओखलढुंगाको दुर्गम गाउँ रावादोलुमा सञ्चालन भएको घुम्ती शिविरमा करिब ६ सय नागरिकले सेवा लिएका छन् । दुर्गम गाउँका सर्वसाधारणलाई गाउँघरमै सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरमार्फत स्थानीयले सेवा लिएका हुन् ।
जिल्ला प्रशासन कार्यालयको संयोजनमा दुई दिनसम्म सञ्चालन भएको सरकारी घुम्ती शिविरमा ५ सय २७ नागरिकले नाम दर्ता गराएर सेवा लिएको सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र पौडेलले बताए । अन्य सयजना भन्दा बढीले स्वास्थ्य जाँच र आवश्यक परामर्श सेवा लिएको उनको भनाइ छ ।
शिविरमा १३४ जनाले नागरिकता लिएका छन् । २१६ जनाले स्वास्थ्य जाँच गराएर औषधी लिएका छन् । ७ जना व्यवसायीले व्यवसाय दर्ता गराएका छन् भने मतदाता नामावलीमा १७० जनाले अभिलेख दर्ता गराएका छन् ।
सेवाग्राहीको पहुँचमा सर्वसुलभ सेवा पुर्याउने लक्ष्य अनुरुप गाउँ गाउँमा पुगेर सेवा उपलब्ध गराईएको प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले बताईन् । जिल्लाका सबै ग्रामिण क्षेत्रमा सरकारी सेवा लिएर पुग्ने योजना रहेको उनको भनाइ छ । ‘सेवा प्रवाह मुख्य उद्देश्य हो, सके घरघरमा, नसके पनि गाउँ गाउँमा सरकारको उपस्थिति देखाउने अभियानमा छौं,’ न्यौपानेले भनिन्, ‘रावादोलुबाट सुरु गरिएको सरकारी सेवासहितको घुम्ती शिविर अभियान जिल्ला घर चलाउँछौं र सेवाबाट बञ्चितहरुलाई सेवा दिलाउँछौं ।’
ग्रामिण क्षेत्रमा सेवा प्रदायक निकायका जिम्मेवार व्यक्ति पुग्दा कार्यालयमै बसेर दिने सेवाको प्रभावकारिता मुल्याङ्कन गर्न समेत सहयोग पुगेको उनको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी न्यौपाने, जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्मासहितको टोलीले गाउँ गाउँमा योजना अनुगमन र सचेतनाका कार्यक्रमहरु समेत सञ्चालन गरेका छन् ।
मैयाले पाईन् ७१ वर्षमा नागरिकता
रावादोलुुकी मैया खड्काले ७१ वर्षमा नागरिकता पाएकी छिन् । अपाङ्गता भएका कारण सदरमुकामसम्म आउन नसकेकाले नागरिकता नपाएकी खड्काले गाउँमै शिविर सञ्चालन भएपछि नेपाली नागरिकता पाएकी हुन् ।
शारीरिक रुपमा अशक्त भएकाले नागरिकता पाउन नसेकेको अवस्थामा गाउँमै शिविर आएपछि मैयाले नागरिकता पाएको उनका आफन्त डम्बरबहादुर खड्काले बताए । मैयाजस्तै अशक्त र वृद्धवृद्धाले गाउँमै सेवा पाएका छन् ।
समय र पैसा खर्च गरेर सदरमुकामका कार्यालयहरुबाट लिनुपर्ने सेवा गाउँमै पाएको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् ।
सिडिओलाई सांसदको स्याबासी
शिविर अनुगमनका लागि ओखलढुंगाका सांसदहरु यज्ञराज सुनुवार, अम्बिरबाबु गुरुङ र मोहन खड्का पनि रावादोलु पुगेका थिए । दुर्गममा सरकारी सेवा पु¥याएको भन्दै सांसदहरुले प्रमुख जिल्ला अधिकारी (सिडिओ)को प्रशंसा गरेका थिए । ‘मुनका न्यौपाने ओखलढुंगाको पहिलो महिला सिडिओमात्रै होइन, दुर्गममा समेत यसरी नमुनाका काम गरेर जिल्लाकै आमाको पहिचान बनाउन सफल हुनुभएको छ,’ सांसद यज्ञराज सुनुवारले भने ।
प्रतिक्रिया दिनुहोस्