
रविन भट्टराई
झापा, मंसिर २८ । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले पुनर्वास जाने भुटानी शरणार्थी सकिएको भन्दै उपलब्ध गराउँदै आएको खाद्य सहायता रोक्ने घोषणा गरेको छ । योसँगै पूर्वी नेपालका शिविरमा बस्दै आएका भुटानी शरणार्थी चिन्तित बनेका छन् । जसका कारण करिब ६ हजार ५ सय शरणार्थीमा गम्भीर खाद्य संकटको खतरा देखिएको छ ।
काठमाडौंस्थित विश्व खाद्य कार्यक्रमको कार्यालयले गत सन् २०१८ को अन्त्यपछि भुटानी शरणार्थीलाई दिँइदै आएको खाद्य सहायता सधैँका लागि रोक्ने विज्ञप्ति प्रकाशित गरेसँगै उनीहरु चिन्तित र अन्योल बनेका छन् । २५ वर्षदेखि भुटानी शरणार्थीका लागि दिँदै आएको सहायता बन्द गर्ने विश्व खाद्य कार्यक्रमको घोषणाले झापा र मोरङका शिविरमा करिब ६ हजार ५ सयको संख्यामा रहेका भुटानीलाई समस्या पर्ने भएको छ ।
खाद्य सहायता बन्द गरेसँगै गम्भीर खाद्य संकट निम्तिने खतरा बढ्दै गएको छ । विश्व खाद्य कार्यक्रमले खाद्यान्न दिन नसके नेपाल सरकारले भए पनि दिनुपर्ने झापा बेलडाँगी शिविरका भुटानी शरणार्थी रिन्जिन दोर्जेको भनाइ छ ।
उनीहरुले शरणार्थीलाई मार्ने नियतका साथ विश्व खाद्य कार्यक्रमले खाद्यान्न सहायता रोक्न खोजेको आरोप लगाएका छन् । सन् १९९० को दशकमा भुटानमा भएको सरकारी दमनबाट विस्थापित भई नेपालमा बसिरहेका १ लाख १३ हजारभन्दा बढी भुटानीहरु तेस्रो मुलुक पुनर्स्थापनमा गइसकेका छन् । पुनर्वास जाने शरणार्थी सकिएको भन्दै विश्व खाद्य कार्यक्रमले खाद्य सहायता रोक्ने निर्णय गरेको हो ।
यता, राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले वैकल्पिक व्यवस्था नगरी यस्तो घोषणा गर्नु जायज नभएको र शिविरमा एकजना शरणार्थी रहँदासम्म सहायता रोकिन नहुने धारणा राख्छन् ।
भुटानी शरणार्थीको तेस्रो मुलुक पुनर्वासको क्रम चलिरहँदा शरणार्थीले पाइरहेको खाद्य सहायता पछिल्लो समय कटौती हुँदै आएको थियो । जसका कारण एक वर्षयता भुटानी शरणार्थी एक छाक खाएर बस्दै आएका छन् । शिविरमा रहेका शरणार्थीहरुमध्ये महिला, बालबालिका, असहाय र रोगी वृद्ध वृद्धाको संख्या तुलनात्मक बढी छ ।
प्रतिक्रिया दिनुहोस्