
एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाल(प्रचण्ड)ले आज छलफल गरी चार बुँदे मापदण्ड तयार पारेका हुन् ।
ओली निवास बालकोटमा आज भएको छलफलमा प्रदेशसभा गठन र राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशसभा र स्थानीय तहमा दुवै दलले प्राप्त गरेको मतलाई आधार बनाएर उम्मेदवार चयन गर्ने, विभिन्न ठाउँ र समुदायका प्रभावशाली व्यक्तिलाई प्राथमिकता दिने, पार्टी एकताको स्पिरिटलाई कायम राख्ने र दुवै पक्षको सन्तुलन कायम गरी सिट निर्धारण गर्ने मापदण्ड तयार पारिएको हो ।
छलफलपछि दुवै अध्यक्षले प्रदेश सरकार र राष्ट्रियसभा गठनका लागि गृहकार्य गर्न गठित कार्यदललाई निर्देशन दिएका छन् । उनीहरुले कार्यदललाई चाँडो काम सक्ने निर्देशन समेत दिएको नेताहरुले बताएका छन् ।
दुई अध्यक्षबीच मुख्य मन्त्री चयन र प्रदेशसभाको व्यवस्थापन लगायतका विषयमा पनि छलफल भएको थियो ।
एमाले र माओवादी एकता संयोजन समितिको हिजो बसेको बैठकले प्रदेश सरकार र राष्ट्रियसभा गठनमा गृहकार्य गर्न ६ सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे, माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्