
साविकको क्षेत्रीय सदरमुकाम रहेको दिपायलमा प्रदेश नम्बर–७ को राजधानी बनाउनुपर्ने माग गर्दै डोटी नागरिक समाजले रिले अनशन सुरु गरेको हो ।
दिपायलस्थित क्षेत्रीय प्रशासन कार्यालयनजिकै बुधबार बिहान ९ बजेबाट २४ घन्टे रिले अनशन सुरु गरिएको छ ।
सायल गाउँपालिका–५, पटकानीका ३५ वर्षीय तेज डुम्रेल र डा. केआइसिंह गाउँपालिका–४, चन्केसैनका ५० वर्षीय खगेन्द्रप्रसाद भट्टले रिले अनशन थालेका थिए ।
सरकारले दिपायलमा प्रदेश–७ को राजधानी घोषणा नगरेसम्म रिले अनशन जारी रहने समाजले जनाएको छ ।
प्रशासनमा धर्ना कायमै
संघर्ष समितिले भने प्रदेश राजधानी माग गर्दै क्षेत्रीय प्रशासन कार्यालयको गेटमा मंगलबारदेखि सुरु गरेको धर्ना कार्यक्रमलाई जारी राखेकोे छ ।
विगत १४ दिनदेखि आमहडतालसहितको विभिन्न कार्यक्रम गर्दै आएको संघर्ष समितिले मंगलबारबाट धर्नाको कार्यक्रम थालेको हो ।
‘आमहतडतालका कार्यक्रम तत्कालका लागि रोक्दै आन्दोलन रुपान्तरण गरेर अघि बढेका छौं’–संघर्ष समितिका संयोजक नरेन्द्र खड्काले भने–‘अहिले एक सातासम्म धर्ना, अनशन र दबाबका कार्यक्रमहरु हुनेछन् ।’
प्रतिक्रिया दिनुहोस्