२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


एमाले–माओवादी केन्द्रको चारबुँदे मापदन्डमा के–के ? (भिडियो)


0
Shares

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले छलफल गरी चारबुँदे मापदन्डसहित निर्देशन दिएका हुन् ।

एमाले र माओवादी केन्द्रका अध्यक्षसहित कार्यदलको बुधबार ओली निवास भक्तपुर, बालकोटमा बसेको बैठकमा ओली र दाहालले कार्यदलको काम गर्ने कार्यविधि र कार्यदिशाकाबारेमा निर्देशन दिएका हुन् ।

प्रदेशसभा गठन र राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशसभा र स्थानीय तहमा दुवै दलले प्राप्त गरेको मतलाई आधार बनाएर उम्मेदवार चयन गर्न, विभिन्न ठाउँ र समुदायका प्रभावशाली व्यक्तिलाई प्राथमिकता दिन, पार्टी एकताको भावना कायम राख्न र दुवै पक्षको सन्तुलन कायम गरी सिट निर्धारण गर्ने मापदन्ड तयार गरिएको कार्यदलका सदस्य एमाले नेता शंकर पोखरेलले जानकारी दिए ।

बैठकमा प्रदेशका मुख्यमन्त्री, सभामुखलगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा प्रतिवेदन पेस गर्नेबारे पनि छलफल भएको थियो ।

कार्यदलले चाँडै काम थालेर प्रतिवेदन पेस गर्ने जनाएको छ । तर, त्यसअघि नै पार्टी एकता भएमा कार्यदलको रिपोर्टसहित बाँकी जिम्मेवारी स्वतः एकीकृत तहको शीर्ष कमिटीमा जाने माओवादी नेता वर्षमान पुनले जानकारी दिए ।

कार्यदलले दुवै पार्टीका मुख्य नेताहरुसँग परामर्श गर्नेछ । कार्यदलमा एमालेबाट सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे छन् भने माओवादी केन्द्रबाट रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव छन् ।

भिडियो हेर्नुहोस्