Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


विश्वको अग्लो स्थानबाट रेडियो सञ्चालन, गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारी


0
Shares

यसअघि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा छिमेकी मुलुक भारतको लद्दाकमा तीन हजार सात सय मिटर उचाईमा रहेको रेडियो नै विश्वको सबैभन्दा अग्लो स्थानबाट प्रशारित रेडियोको अभिलेखमा छ ।

समुद्री सतहदेखि चार हजार चार सय मिटरको उचाइबाट प्रसारण सुरु गरिएको रेडियोले विश्व रेकर्ड कायम गर्ने सञ्चालकको दाबी छ । सोलुखुम्बुको पर्यटकीय क्षेत्र पिकेडाँडाबाट प्रसारण आरम्भ गरेको पिके सञ्चार प्रालिका अध्यक्ष पासाङ बोम्बु शेर्पाले जानकारी दिए ।

शेर्पाले हिमाली पर्यटनको प्रव्द्धनका लागि विश्वकै अग्लो स्थानबाट रेडियो प्रसारण शुरु गरिएको बताए । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारी भइरहेको उनले जानकारी दिए ।

सूचना तथा सञ्चार मन्त्रालयबाट एक हजार वाट क्षमताको प्रसारण ईजाजत लिएको रेडियोले अहिले सदरमुकाम सल्लेरीमा स्टुडियो राखेर ताररहित पद्धतिबाट पिके डाँडामा लिङ्क गरी प्रसारणको शुरुवात गरेको रेडियोका प्रबन्ध निर्देशक भानुभक्त निरौलाले जानकारी दिए । प्रसारणको शुरुवातमै प्रदेश नम्बर १, २ र ३ का २० भन्दा बढी जिल्लामा राम्रो सुनिएको स्रोताले प्रतिक्रिया दिएको उनको भनाइ छ ।

परीक्षणको क्रममा सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, संखुवासभा, सिन्धुली, रामेछाप, दोलखा, काभ्रे, धनकुटा, भोजपुर, सिराहा, सप्तरी, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, मोरङलगायतका जिल्लाबाट स्रोता प्रतिक्रिया प्राप्त गरिएको हिमाली सञ्चार लिमिटेडका अध्यक्ष निमा शेर्पाले बताए ।

अध्यक्ष शेर्पाले रेडियोले राज्यको बदलिँदो स्वरुपअनुसार स्थानीय तह र प्रदेश बीचमा समन्वयात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।