२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


विकास र सुशासन प्रमुख कार्यभार : दाहाल


0
Shares

माओवादी केन्द्रले शुक्रबार बेनीमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष दाहालले राजनीतिक आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्दै देश विकासमार्फत् समृद्धि हासिल गर्ने बाटोमा अघि बढेको बताए ।

‘धेरै अप्ठ्यारा, चुनौती र दबाबको सामना गर्दै हामीले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको चुनाव सफल पार्‍यौं’–पूर्व प्रधानमन्त्रीसमेत रहेका दाहालले भने–‘अब देश विकास, समृद्धि र सुशासन कायम गराउने प्रमुख दायित्व पूरा गर्छौं ।’

वाम एकतालाई जनताले अनुमोदन गरिसकेकाले एमाले र माओवादीसँगै अन्य कम्युनिष्ट पार्टीलाईसमेत केन्द्रीकृत गर्न पहल भइरहेको उनले बताए । वाम एकताको खाका तयार पार्ने काम भइरहेको र यसले छिट्टै पूर्णता पाउने दाहालको भनाइ थियो ।

अध्यक्ष दाहालले वाम गठबन्धनको सरकारले म्याग्दीको विकासका लागि पर्यटन, जलविद्युत्, सडक, शिक्षा, स्वास्थ्य क्षेत्रमा प्राथमिकता दिने प्रतिबद्धता जनाए ।

अध्यक्ष दाहाल शुक्रबारदेखि बेनीमा सुरु हुन लागेको छैटौं म्याग्दी महोत्सवको उद्घाटनका लागि बेनी आएका हुन् । रासस