१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


थारु समुदायमा माघी पर्वको चहलपहल


0
Shares

माघी पर्व नजिकिएसँगै यस क्षेत्रका थारु समुदायमा माघी पर्वको चहलपहल सुरु भएको हो ।

थारु समुदायमा नर्यावर्षकोरुपमा धुमधामसँग मनाइने माघी पर्वमा मीठो–मसिनो खाने, नयाँनयाँ लुगा लगाउने, आ–आफ्नो समूहका दौतरी–साथीभाइसँग रमाउनेलगायतका विभिन्न नाचगान गर्ने चलन रहिआएको छ ।

पर्व मनाउनका लागि दुना, टपरी बनाउने, विभिन्न खाद्यान्न, मासुको जोहो गर्ने तथा अन्य विभिन्न कार्यक्रमको तयारीका लागि थारु समुदायका घरमूली जुटिसकेका छन् ।

विशेषगरी तीन दिनसम्म मनाइने यो पर्वमा विभिन्न थारु जातिको मौलिक पकवान जस्तैः ढिक्री, अन्डिक भात, खुर्मा, घोंघी, गगेंटा, सुटही, मुसाको पकुवा, महुवक दारु, चामलको दारु, निघारलगायत विभिन्न खानाका परिकार खाने र खुवाउने चलन रहिआएको छ ।

माघी पर्वकै अवसर पारेर थारु समुदायले बितेको वर्षको समीक्षा र आगामी वर्षको योजना बनाउने गर्दछन् । बितेको वर्षको समीक्षा र आगामी वर्षको योजना पारिवारिक तथा गाउँस्तरमै बनाइने चलन रहेको छ ।

पर्वकै अवसरमा कैलालीका विभिन्न स्थानमा माघी विशेष कार्यक्रम र माघी महोत्सव मेलाको पनि आयोजना गर्ने तयारी भइरहेको छ ।

कार्यक्रम र माघी महोत्सव मेलाको आकर्षणकारुपमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, स्थानीय थारु नाचगानको प्रस्तुति जस्तैः साखिया नाच, झुमा नाच, मघौटा नाच, लठ्ठी नाच, मुङग्रहुवा नाचलगायतका नाचको प्रस्तुति गर्ने परम्पपरा रहिआएको छ । रासस