प्रकाश मैनाली (इमेज)
सर्लाही, मंसिर २६ । सर्लाहीमा ‘अब केही गर्छु’ भन्ने युवाको सारथि बन्दै गएको छ, माछापालन ।
केही वर्षपहिलेसम्म आफ्नो जिल्लामामात्र सीमित रहेको सर्लाहीको माछा अहिले लाहान, विराटनगरदेखि छिमेकीमुलुक भारतसम्म पुग्न थालेको छ ।
यसबाट आर्थिक लाभका साथै युवाहरु रोजगारीका लागि विदेशिनेक्रमसमेत घट्दै गएको छ ।
तर, उनीहरुलाई आवश्यक सडक, बिजुलीलगायत भौतिक सुविधा र परामर्श भने आवश्यक रहेको उनीहरु बताउँछन् ।
परामर्शका लागि भारतीय चिकित्सकको भरपर्नुपरेकोे गुनासो उनीहरुको छ ।
केही वर्षपहिले किसानका लागि भनेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइअन्तर्गत् रहनेगरी माछा बल्क स्थापना गरेर काम सुरु भएपनि विषयगत कार्यालयहरु स्थानीय निकायमा गएसँगै काम गर्न केही गाह्रो भएको बताइएको छ ।
तथापि बल्कले किसानका लागि भनेर तालिम र बजारको काम गरिरहेको बल्क अध्यक्ष ध्रुवप्रसाद ढकाल बताउँछन् ।
यसको सम्भावना देखेरै ईश्वरपुर नगरपालिकालेसमेत १, २ र ३ वडालाई माछा पकेट क्षेत्र घोषणा गरी किसानको समयसीमालाई मध्यनजर गरेर माछा विशेषज्ञ पठाउन प्रदेश र केन्द्र सरकारसँग आग्रह गरेको जनाइएको छ ।
नगर आफैंले भएपनि उपलब्ध गराउने प्रयास गरिरहेको ईश्वरपुरका नगरप्रमुख मनोजकुमार देवकोटा बताउँछन् ।
हाल सर्लाहीमा करिब एक हजार हेक्टर जमिनमा माछापालन हुँदै आएको छ । यसबाट प्रतिहेक्टर ५.५ मेट्रिकटन बराबर माछा उत्पादन हुने गरेको छ ।









प्रतिक्रिया दिनुहोस्