१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


सस्तोमा उखु बेच्न बाध्य किसान (भिडियो)


0
Shares

सरकारले गतवर्ष तोकेको उखुको मूल्य पनि नपाएपछि ऊखु किसान सस्तोमा बिक्री गर्न बाध्य भएका हुन् ।

कपिलवस्तुको जवाभारीस्थित महालक्ष्मी सुगर्स मिल सर्लाही स्थानान्तरण गरिएपछि यहाँका किसानलाई ऊखु बिक्री गर्न समस्या परेको हो । यहाँका किसानले ऊखु बिक्री नहुँदा स्थानीय क्रसर उद्योगमा सस्तोमा ऊखु बिक्री गर्न बाध्य थिए ।
ऊखु उत्पादन गरेर बिक्री गर्ने सिजनमै मिल स्थानान्तरण भएपछि ऊखु किसानले स्थानीय ऊखु क्रसर उद्योगमा बिक्री गर्दै आएका थिए । गतवर्ष तोकेको ५ सय ३१ रुपैयाँ २० पैसा प्रतिक्वीन्टल ऊखुको मूल्यभन्दा धेरै कम ३ सय ६० देखि ४ सय रुपैयाँसम्ममा ऊखु बिक्री गर्नुपरेको किसानको गुनासो छ ।

ऊखु खेती राम्रो भए पनि त्यसको उचित मूल्य नपाएपछि ऊखु किसानले विकल्पको खोजी गरेको समेत बताउँछन् । सुगर्स मिल स्थानान्तरण भएपछि किसानहरुले सस्तो मूल्यमा भेली क्रसर उद्योगमा बिक्री गर्नुपरेको छ । मिल स्थानान्तरण भएपछि धेरै ऊखु उत्पादन गर्दै आएका किसान थोरै जग्गामा ऊखु खेती गर्न बाध्य छन् ।

ऊखु सिजनमै मिल स्थानान्तरण भएपछि व्यवसायिक रुपमा उखु खेती गर्दै आएका किसान मारमा परेका हुन् । सुनवलस्थित चिनी मिलले किसानको ऊखु खरिद गर्न ढुवानी खर्च बढि पर्ने भएपछि स्थानीय ऊखु किसान विकल्पको खोजीमा छन् ।

केहीदिन यता सुनवलस्थित चिनी मिलले किसानको ऊखु खरिद गरेपछि केही राहत मिलेको बताइएको छ । धेरै ऊखु उत्पादन गर्ने किसानले भने आफ्नै जग्गामा घरेलु भेली क्रसर उद्योग स्थापना गरेर संचालन गर्न बाध्य छन ।

सिंचाई सुविधा नभएपछि जिल्लाको पश्चिमी क्षेत्रका किसानले व्यवसायिक रुपमा उखु खेती गर्दै आएका छन् । उनीहरुको आयस्रोतको मुख्य माध्यम नै उखु खेती रहेको छ । तर अब भने यसको विकल्प खोजी गरिरहेका छन् । आफनै ठाँउमा संचालनमा रहेको महालक्ष्मी सुगर्स मिल नहुँदा जिल्लाका हजारौं ऊखु कृषक मारमा परेको किसान संघका जिल्ला अध्यक्ष अनुप कुमार चौधरीको भनाइ छ ।

जिल्ला कृषि बिकास कार्यालयका अनुसार जिल्लाको कुल खेती योग्य जमिनमध्ये ७ हजार हेक्टरमा व्यवसायिक उखु खेती हुँदै आएको छ । सिंचाई सुविधाको अभाव भएको कारण जिल्लाको पश्चिम दक्षिणी क्षेत्रमा उखु बाहेक अरु कुनै खेती नहुने कृषि विकास कार्यालयले जनाएको छ ।

भिडियो हेर्नुहोस्