२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


चिसो र शीत लहरका कारण तराई आक्रान्त, ८२ जनाले ज्यान गुमाए(भिडियो)


0
Shares

चिसोका कारण यस वर्ष मध्य–पूर्वी आठ जिल्लामा मात्र ८२ जनाले ज्यान गुमाईसकेका छन् ।

शीतलहर र अत्यधिक चिसोले प्रदेश नम्बर २ अन्तर्गतका जिल्ला बढी प्रभावित भएका छन् ।

दुई सातादेखि अत्यधिक बढेको हुस्सु, शीतलहर र चिसोले मध्य पूर्वी तराईका बारा, पर्सा, सिरहा, रौतहट, सर्लाही, सप्तरी, धनुषा र महोत्तरीको जनजीवन पूर्णरुपमा प्रभावित बनेको हो ।

यी जिल्लामा हालसम्म चिसोकै कारण ८२ जनाले ज्यानसमेत गुमाई सकेका छन् ।

जसमा सबैभन्दा बढी सप्तरीमा २४, रौतहटमा १९, सिरहामा १४, पर्सामा ९, बारामा ५, धनुषामा ५, सर्लाहीमा ३ र महोत्तरीमा ३ जनाको मृत्यु भएको छ ।

शीत लहरले उद्योग व्यवसाय निकै प्रभावित भएका छन् भने सर्वसाधारणको आवागमनमा समेत कमी आएको छ । सर्वसाधारणहरु दिनरात आगो तापेर बस्न बाध्य भएका छन् ।

चिसोले जनजीवन कष्टकर भइरहँदासमेत सरकारी निकायले राहतको व्यवस्था गर्न नसकेको गुनासो नागरिकहरुको छ ।

कतिपय गैरसरकारी संघ संस्था र केही दाताले न्यानो लुगा वितरण गरे पनि त्यो अपुग भएको छ ।

सरकारी निकायले प्रभावित क्षेत्रका बासिन्दालाई दाउरा वितरण गरे पनि त्यो अपुग देखिएको छ । चिसो र शितलहरले खासगरी बच्चा र वृद्धवृद्धामा बढी असर पारेको छ ।

सम्बन्धित जिल्लाका जिल्ला अस्पतालमा दैनिक ५० देखि ६० जनासम्म जाडोबाट प्रभावित बिरामीहरु उपचार गराउन आइरहेका छन् ।

धेरै जसोमा हाडजोर्नी, भाइरल ज्वरो, झाडा पखालालगायतका समस्या देखिएको छ ।

चिसो र शीत लहरले मानिसमा मात्रै होइन, पशुचौपाया र तरकारी बालीमा समेत असर परेको छ ।

प्रभावित जिल्लाका पशु चौपाया बिरामी भएका छन् भने तरकारी बाली नष्ट हुन थालेको छ ।

(भिडियो)