५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


संवैधानिक परिषद्को बैठक तेस्रो पटक स्थगित, नयाँ प्रधानन्यायाधीश नियुक्तिमा ढिलाई


0
Shares

काठमाडौं । नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न आज बस्ने भनिएको संवैधानिक परिषद्को बैठक फेरि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित नभएपछि बिहान ९ बजेका लागि बोलाइएको बैठक भोलि ९ बजेसम्मका लागि स्थगित गरिएको हो ।

योसमेत गरी संवैधानिक परिषद्को बैठक तेस्रो पटक स्थगित भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा विपक्षी दलका नेता देउवा उपस्थित नभएपछि भोलि बिहान ९ बजेसम्मका लागि बैठक स्थगित गरिएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले जानकारी दिए ।

बैठकमा सहभागी हुन संवैधानिक परिषद्का सबै सदस्य निर्धारित समयमै पुगे पनि कांग्रेस सभापति देउवा उपस्थित भएनन् ।

उनले पार्टीको विशेष काम परेकाले आजको बैठकमा सहभागी हुन नसकेको जानकारी गराएको बताइएको छ ।

यसअघि हिजो पनि दुई पटक बैठक स्थगित भएको थियो । हिजोको बैठकमा आगामी पुस ५ गते बस्ने सहमति भएको थियो ।

तर, प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न ढिला हुने भन्दै प्रधानमन्त्री ओलीले आजै बैठक आह्वान गरेका थिए ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुस १७ गतेबाट अनिवार्य अवकास पाउने भएकाले त्यस अगावै नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गरिसक्नु पर्दछ ।

संवैधानिक परिषद्ले गरेको सिफारिस संसदीय सुनुवाई विशेष समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

न्याय परिषद्ले यसअघि नै वरिष्ठ न्यायाधीशद्वय चोलेन्द्र शमशेर राणा र दीपकराज जोशीको नाम संवैधानिक परिषदमा पठाएको छ ।

सामान्यतः एक महिना अघि नै नियुक्तिको सिफारिस गर्ने चलन भए पनि संवैधानिक परिषदको बैठक नै बस्न नसक्दा प्रधानन्यायाधीश नियुक्तिको सिफारिसमा विलम्ब हुँदै गएको छ ।