
तालाबन्दी गर्ने क्रममा आन्दोलनकारी र सुरक्षाकर्मीबीच घम्साघम्सी हुँदा एकजना घाईते समेत भएका छन् । प्रदेश सभासदद्वय निरन राई र ईन्द्रमणी पराजुलीको नेतृत्वमा तालाबन्दी गर्न गएको टोलीलाई प्रहरीले प्रशासनको गेटमा रोक्न खोज्दा भएको घम्साघम्सीमा धनकुटा–६ का जेसिस श्रेष्ठ घाईते भएका हुन् ।
केही समयको घम्साघम्सीपछि आन्दोलनकारीहरुले प्रशासनको मूल गेट तोडेर प्रशासनमा पुगेर क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहबिरुद्ध नाराबाजी गरेका थिए ।
धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउने आन्दोलन चलिरहँदा उनी कार्यालयमा उपस्थित नभएकोले कार्यालयमा तालाबन्दी गरेका हुन् । विगत ३३ दिनदेखि जारी आन्दोलन र यसबीच बिभिन्न समयमा घोषित अनिश्चितकालीन आम हडतालले धनकुटाको जनजीवन प्रभावित हुँदै आएको छ ।
बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले बुधबार विहान मोटरसाइकल तोडफोड गरेका छन् । संखुवासभाको सभा पोखरीबाट धरानतर्फ जाँदै गरेको चन्द्र राईको मोटरसाइकल आन्दोलनकारीले तोडफोड गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्