१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


आन्तरिक राजश्व कार्यालय पोखराद्वारा पुससम्म ४ अर्ब १९ करोड बढी राजश्व संकलन


0
Shares

यस आर्थिक वर्षमा ८ अर्ब ६३ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य राखिएकोमा पुस मसान्तसम्म ४ अर्ब १९ करोड रुपैयाँभन्दा बढी रकम संकलन गरिएको आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख केशवप्रसाद उप्रेतीले जानकारी दिए ।

उनकाअनुसार पुस महिनामामात्र ९४ करोड लक्ष्य रहेकोमा ११० करोडभन्दा बढी अर्थात् १ सय १५ प्रतिशत राजश्व संकलन गर्न कार्यालय सफल भएको छ ।

प्रदेश नम्बर–४ को मुख्य केन्द्रकोरुपमा रहेको पोखरा सेवा उद्योगका लागि अब्बल मानिन्छ ।

राजश्व वृद्धि गर्नका लागि पर्यटनलगायत अरु उद्योगलाई व्यवस्थित गरेर लैजानसकेमा राजश्व संकलन अहिलेकोभन्दा दोब्बर बनाउन सकिने उप्रेतीको भनाइ छ ।

त्यसैगरी, यस क्षेत्रमा मुख्य योगदान रहेको अन्तःशुल्कको पनि असुली सन्तोषजनक रहेको जनाइएको छ ।

गन्डकी र धौलागिरि अञ्चलमा सीमित रहेको यस कार्यालयले सूर्य नेपालदेखि लिएर विभिन्न डिष्टिलरीबाट अन्तःशुल्क उठाउँदै आएको छ ।

यस वर्ष आयकर, घरबहाल कर, स्वास्थ्य, शिक्षालगायतका करहरुमा पनि सूचांक सकारात्मक देखिएको कर अधिकृत गेहन्द्र गिरीले बताए ।

यसैगरी, करको दायरालाई फराकिलो बनाउने उद्देश्यअनुरुप करदाता संख्यामासमेत उलेख्यरुपमा वृद्धि भएको कार्यालयका सूचना अधिकृत विजयप्रसाद लामिछानेले जानकारी दिए ।

गत वर्ष १ लाख ५ हजार करदाता रहेकोमा अहिले आएर १ लाख ३८ हजार ५०० करदाता रहेको उनको भनाइ छ ।