
काठमाडौं, मंसिर २५ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन सम्पन्न नभएसम्म सरुवासम्बन्धी कार्यलाई स्थगित गरेको छ ।
मन्त्रालयका उपसचिव अनिता निरौलाले कर्मचारी समायोजन सुरु भएकाले समायोजन नसकिँदासम्म सरुवासम्बन्धी कार्यलाई स्थगित गरेको जानकारी गराइन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अध्यादेश स्वीकृत गरेकी थिइन् ।
मन्त्रालयले सरकारी सेवाका कर्मचारीको विवरण १५ दिनभित्र अद्यावधि गर्न सबै निकायलाई पत्राचार गरिसकेको उनले जानकारी गराइन् ।
राष्ट्रिय किताबखानामा रहेको कर्मचारी विवरणमा उल्लेखित मोबाइल नम्बरमा आ–आफ्नो व्यक्तिगत विवरण १५ दिनभित्र अद्यावधि गर्न सबै कर्मचारीलाई एसएमएस पठाइएको छ ।
समाजोजनका लागि मन्त्रालयले कर्मचारीलाई निवेदन दिनसमेत आग्रह गरेको छ ।
उनले संघ, प्रदेश र स्थानीय तहमा रहेका कर्मचारी आफू खटिएको कार्यालयमा शुक्रबारभित्र हाजिर भइ त्यसको जानकारी मन्त्रालय र राष्ट्रिय किताबखानालाईसमेत एसएमएसमार्फत् गराउन निर्देशन दिएको बताइन् ।
मन्त्रालयले स्थानीय तहमा स्थायी नियुक्त भएका कर्मचारीलाई १० दिनभित्र समायोजनको पत्र लिइ सोको जानकारी गराउनसमेत निर्देशन दिएको छ ।
मन्त्रालयले समायोजनको काम सम्पन्न गर्न सहजीकरण गर्न स्थानीय तहलाईसमेत आग्रह गरिएको उनले जानकारी दिइन् ।
सरकारको पुस मसान्तसम्म संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्ने योजना छ । रासस
प्रतिक्रिया दिनुहोस्