२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अर्थतन्त्रमा ज्वरो आएको छ : अर्थमन्त्री


0
Shares

काठमाडौं, मंसिर २५ । अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले पुँजीबजार घटेको विषयलाई नजिकबाट नियालीरहेको जनाएका छन् ।

प्रतिनिधिसभाअन्तर्गत्को अर्थ समितिको मंगलबारको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडा, गभर्नर डा. चिरञ्जीवी नेपाल, बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले पुँजीबजारमा भइरहेको गिरावटप्रति गम्भीर रहेको बताएका हुन् ।

अर्थमन्त्री खतिवडाले वित्तीय बजारको सन्तुलनका लागि पुँजीबजार आवश्यक रहेको भन्दै पुँजीबजार र मुद्राको विषयमा अध्ययन गर्न समिति बनाइएको बताए । समितिको प्रतिवेदन कार्यान्वयन गर्ने पनि उनले प्रतिबद्धता व्यक्त गरे ।

अर्थतन्त्रमा ज्वरो आएको भन्दै उनले त्यो ज्वरो सकारात्मकका लागि भएको पनि बताए ।

गभर्नर नेपालले सेयरबजारलाई विस्तार गरिनुपर्नेमा जोड दिए ।

सीमित व्यक्तिका कारण पुँजीबजारमा समस्या देखिएको भन्दै उनले सेयर लगानीकर्ता बढाउनेतर्फ ध्यान दिनुपर्ने बताए ।

बोर्डका अध्यक्ष कार्कीले पछिल्लो समयमा पुँजीबजारमा धेरै सुधार गरिएको भन्दै माग र आपूर्तिले बजार निर्धारण गर्ने बताए ।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले ‘मार्जिन कल’मा केही खुकुलो बनाउन सकिने भए त्यो गर्न सुझाव दिए ।

अर्का पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले लगानीकर्तालाई हतोत्साही बनाएको आरोप लगाए ।

बैठकमा इन्भेस्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेल, ब्रोकर संघका अध्यक्ष भरत रानाभाटले अस्थीर नीतिका कारण पुँजीबजार पनि अस्थीर बनेको बताए ।

नियामक निकायले आफूहरुको कुरा पनि नसुनेको भन्दै सेयरबजारसम्बन्धी दीर्घकालीन नीति आवश्यक रहेकोमा उनीहरुले जोड दिएका थिए ।