२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


कांग्रेस केन्द्रीय समिति बैठकमा नेतृत्वको चर्को आलोचना (भिडियो)


0
Shares

बैठकमा तत्काल महासमिति बैठक बोलाएर त्यहीँबाट चुनावी समीक्षा गर्दै रुपान्तरणको मार्ग पहिल्याउने आवाज बलियो देखिएको बताइएको छ ।

बैठकको प्रारम्भमै प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले चुनावी समीक्षाका लागि राष्ट्रियसभा निर्वाचनपछि फेरि बैठक बस्ने भन्दै अहिले राष्ट्रियसभा चुनावी तयारीका विषयमा धारणा राख्न भनेका थिए ।

संसदको सबैभन्दा ठूलो पार्टी र सरकारको नेतृत्व गर्दागर्दै भएको चुनावमा नराम्रो हार व्यहोरेको भन्दै केन्द्रीय सदस्यहरु सभापतिले राखेको एजेन्डाभन्दा बाहिर गएरै समीक्षामा उत्रिए ।

कतिपय केन्द्रीय सदस्यले सरकारले तोकेको प्रदेश मुकामप्रति असन्तुष्टि जनाउँदै बैठक नै बहिस्कार गरेर निस्किए ।

खासगरी बुटवल, धनगढी र मकवानपुरलाई प्रदेश मुकाम तोकिएकोमा केन्द्रीय सदस्यहरुको आपत्ति थियो ।

अधिकांश केन्द्रीय सदस्यहरुले माओवादी केन्द्र सरकारमै रहँदासमेत नेकपा एमालेसँग उसको चुनावी गठबन्धन हुन लागेको थाहा नपाउनु नेतृत्वको ठूलो कमजोरी भएको टिप्पणी गरे ।

उनीहरुले नेतृत्वको चलाखी नहुँदा निर्वाचनमा पुर्‍याउनुपर्ने सतर्कता पुर्‍याउन नसकिएको, सरकारले गरेका काम जनमैत्री बन्न नसकेको आरोप लगाएका थिए । उनीहरुले जतिसक्दो चाँडो महासमिति बैठक बोलाएर गम्भीर समीक्षा गर्न भनेका छन् ।

कतिपय केन्द्रीय सदस्यले आफ्नै हारलाई केन्द्रमा राखेरसमेत नेतृत्वको आलोचना गरेका छन् ।

युवापुस्ताका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेतृत्व परिवर्तनसमेत बैठकको मुद्दा बनाइनुपर्ने बताए ।

नेतृत्वप्रति तीव्र आलोचना भइरहँदा दोस्रो पुस्ताकोरुपमा रहेकाहरुले भने राष्ट्रियसभाको निर्वाचनपछि निर्वाचन समीक्षा गरेर पार्टीलाई महासमिति बैठकबाट सुधारको दिशामा लानुपर्ने धारणा राखेका छन् ।

केन्द्रीय सदस्य विमलेन्द्र निधि राष्ट्रियसभा निर्वाचनपछि केन्द्रीय समिति बैठक बोलाएर महासमितिमार्फत् पार्टीलाई पुनर्जागृत गराउनुपर्ने मत राख्छन् ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसकै नेतृत्वमा बनेको संविधानको जगमा टेकेर चुनाव गराइ परिवर्तनलाई संस्थागत गर्न सकिएकोमा बैठकमा प्रधानमन्त्री देउवाले खुसी व्यक्त गरेको जानकारी दिए ।

उनले बैठक राष्ट्रियसभा निर्वाचन तयारीमा केन्द्रित भएको भन्दै चुनावी समीक्षा अबको बैठकबाट महासमिति बैठकसम्म पुग्ने बताए ।

हारको चोटमा परेका र गुटमा विभाजित भएका कांग्रेस केन्द्रीय सदस्यहरुले बाहिर प्रचार गरेजसरी केन्द्रीय समितिमा भने आफूलाई प्रस्तुत् गर्न सकेनन् ।

भिडियो हेर्नुहोस्