१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


नियम नमान्ने ट्याक्सीचालकको अनुमतिपत्र निलम्बन गरिने


0
Shares

काठमाडौं, मंसिर २५ । ट्याक्सीचालकको लापरबाही नियन्त्रणका लागि प्रहरीले चालक अनुमतिपत्र निलम्बन गर्नेसम्मको कारबाही थालेको छ ।

नियम उल्लंघन गर्ने ट्याक्सीचालकको अभिलेख राख्न सुरु गरिएको र पाँच पटकभन्दा बढी नियम उल्लंघन गर्नेको अनुमतिपत्र नै निलम्बन हुनेगरी विशेष अभियान सुरु गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिए ।

उनकाअनुसार यातायात व्यवस्था विभागसँगको समन्वयमा उक्त अभियान सुरु गरिएको हो ।

मुख्यगरी मिटरमा जान नमान्ने, बढी भाडा लिने, खाली भएर पनि जान नमान्ने, मिटर बिगार्ने, बिग्रिएको मिटर नबनाउने र यात्रीको गन्तव्यमा नजाने ट्याक्सीचालक बढी छन् ।

उनीहरुलाई सादा पोसाकमा खटिएका प्रहरीले पहिचान गरी जरिवाना तिराएर अभिलेख राख्न थालिएको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए ।

‘मंसिर २० गतेदेखि ट्याक्सीचालकलाई कारबाही सुरु गरेका छौं’–प्रवक्ता सापकोटाले भने–‘पाँचपटक कारबाहीमा पर्‍यो भने अनुमतिपत्र निलम्बन हुन्छ ।’

उक्त अभियानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा ५० भन्दा बढी ट्राफिक प्रहरीलाई सादा पोसाकमा खटाइएको छ ।

पहिचान हुनेबित्तिकै उनीहरुलाई महाशाखामा ल्याइने, रु तीन हजार जरिवाना तिराइने र उनीहरुको अभिलेख राखिनेछ ।

लगातार पाँचपटकसम्म रु तीन हजारका दरले जरिवाना लाग्ने र त्यसपछि नियम उल्लंघन गरेको पाइए अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभागमा सिफारिस गरिने सापकोटाले बताए ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा चालक अनुमतिपत्र निलम्बन गर्नसकिने व्यवस्थाअनुरुप ट्याक्सीबाट कारबाही थालिएको हो ।

उक्त ऐनको दफा ६० मा नियमबमोजिम चालकले पालन गर्नुपर्ने शर्त पाँचपटकभन्दा बढी उल्लंघन गरेको प्रमाणित भएमा अधिकारप्राप्त अधिकारीले त्यस्ता चालकको अनुमतिपत्र ६ महिनासम्मका लागि निलम्बन गर्नसकिने व्यवस्था छ । सोही ऐनलाई टेकेर ट्राफिक प्रहरीले कारबाही थालेको हो ।

अहिले दैनिकजसो करिब १०० सम्म ट्याक्सीचालक कारबाहीमा परिरहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यस्ता समस्या भए प्रहरीलाई खबर गर्नसमेत महाशाखाले आग्रह गरेको छ ।

महाशाखाको तथ्यांकमा आर्थिक वर्ष २०७०/७१ मा चार हजारभन्दा बढी चालक कारबाहीमा परेका थिए ।

आव २०७४/७५ मा आइपुग्दा त्यसको दोब्बर ८ हजार १२० ट्याक्सीचालक कारबाहीमा परेका छन् ।

चालू आवको मंसिर २४ सम्ममा तीन हजार ३२० चालक कारबाहीमा परेको अभिलेख विश्लेषण गर्दा चालकको लापरबाही बढिरहेको देखाउँछ ।

त्यसैले अभिलेख राखेर अनुमतिपत्र निलम्बन गर्नेसम्मको कारबाही थालिएको महाशाखाका प्रवक्ता सापकोटाले बताए । प्रहरीकाअनुसार काठमाडौंमा ९ हजारभन्दा बढी ट्याक्सी गुड्ने गरेका छन् । रासस