
आमनिर्वाचनमा पार्टीले नमीठो पराजय भोगेपछि केन्द्रीय समिति बैठकमा नेतृत्वको खुबै अलोचना भएको छ ।
एकै झन्डाभित्र विभिन्न पार्टीजस्ता देखिने गरी क्रियाकलाप गरिरहेका केन्द्रीय सदस्यहरुले यस बैठकमा गुटका आधारमामात्र नभइ सबैको आलोचना गरेका छन् ।
खासगरी राष्ट्रियसभा निर्वाचनका विषयमामात्र केन्द्रित गराउन खोजिएको बैठकमा सदस्यहरुले निर्वाचन हारका विषयमा पनि बोलेरै छाडे ।
तर, निर्वाचनको समीक्षाका लागि साताव्यापी बैठक गर्ने नेतृत्वको आश्वासनपछि शुक्रबारको बैठक राष्ट्रियसभा निर्वाचनकै विषयमा केन्द्रित रह्यो ।
कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, राप्रपालगायतका दलसँग सहकार्य गर्ने निष्कर्ष निकालेको छ ।
आमनिर्वाचनमा प्रभावकारी गठबन्धन बनाउन नसकेको कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा पनि लोकतान्त्रिक गठबन्धन बनाउने राग अलाप्न छाडेको छैन ।
पार्टीमा एकैखालका व्यक्तिलेमात्र पटक–पटक अवसर पाइरहेको गुनासो केन्द्रीय सदस्यहरुले गरेका छन् । गुट र नाताका आधारमा एकै व्यक्तिलाई अवसरको भारी बोकाइएकामा सदस्यहरुले तीव्र आलोचना गरेका छन् ।
केन्द्रीय सदस्यहरुले पार्टीलाई सुधार गर्ने हो भने गुट त्यागेर राम्रा र राष्ट्रियसभामा गएर प्रभावकारी काम गर्नसक्ने व्यक्तिहरुलाई उम्मेदवार बनाउन माग गरेका छन् ।
राष्ट्रियसभा सदस्य उम्मेदवारका लागि अहिलेसम्म अवसर नपाएकाहरु, स्थानीय तह तथा प्रदेश र प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकमा सिफारिस नभएकाहरुलाई उम्मेदवार बनाइने दाबी गरिएको छ ।
राष्ट्रियसभा निर्वाचनमा निश्चित दलका सदस्य भएकाहरु नै मतदाता हुन्छन् । यो निर्वाचनमा मतदातालाई खासै प्रभाव पार्नसक्ने अवस्था हुन्न ।
प्रतिक्रिया दिनुहोस्