
प्रमाणपत्र बुझेपछि खुसी हुँदै प्रदेश सांसदहरुले समृद्ध र शक्तिशाली प्रदेश बनाउन आफूहरु कम्मर कसेर लाग्ने बताएका छन् ।
समानुपातिकतर्फ विजयी प्रदेश सांसदहरुले निर्वाचन आयोगबाट प्रमाणपत्र बुझेपछि दंग पर्दै खुसी साटासाट त गरे नै सेल्फी खिच्नसमेत भ्याइ–नभ्याइ थियो ।
पुरुष ४८ र महिलामा १७२ गरी २२० जना सांसदहरुलाई निर्वाचन आयोग परिसरमा प्रमाणपत्र वितरण गरिएको थियो ।
प्रसन्न मुद्रामा विजयी प्रमाणपत्र लिएर दुबो र सयपत्रीको माला लगाएका ‘माननीय’ हेर्दा त मन्डप चढ्न लागेका बेहुला–बेहुलीजस्तै देखिएका थिए ।
पूर्वमन्त्रीसमेत रहेकी सांसद करिमा बेगमले फेरि पनि प्रदेश सांसद बन्न पाउँदा खुसी लागेको बताइन् । युवा तथा महिलालाई आत्मनिर्भर बनाइ समृद्ध प्रदेश बनाउन लागिपर्ने बेगमको भनाइ छ ।
समानुपातिकतर्फ प्रदेश सांसदमा आदिवासी–जनजातिबाट ६९, खस–आर्य ६६, थारु १२, दलित २९, मधेसी ३७ र मुसलमान ७ जना उम्मेदवार विजयी भएका छन् ।
तनहुँबाट निर्वाचित प्रदेश सांसद डोबाटे विश्वकर्माले संविधानको कार्यान्वयन र समतामूलक समाजको सिर्जनामा आगामी दिनमा लाग्ने बताए ।
युवा सांसदहरुलेसमेत प्रमाणपत्र बुझेपछि आफूहरु निकै उत्साहित भएको बताए ।
सुशासन, समृद्धि र न्यायपूर्ण प्रदेश निर्माणका लागि युवा सांसदको भूमिका देशले खोजेको उनीहरुको भनाइ छ ।
सोही अवसरमा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा आयोगले द्रुतगतिमा काम गरिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्