५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


संवैधानिक परिषद्को बैठक बस्दै, को बन्लान नयाँ प्रधानन्यायाधीश ?


0
Shares

काठमाडौं । नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न संवैधानिक परिषद्को बैठक आज बस्दै छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने बैठकमा प्रधानन्यायधीशका लागि न्यायपरिषद्ले पठाएका नाममा थप छलफल गर्दै नियुक्ति सिफारिस गर्ने बताइएको छ ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुस १७ गतेबाट अनिवार्य अवकास पाउन लागेकाले सो अगावै नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्न परिषद्को बैठक बोलाइएको हो ।

संवैधानिक परिषद्ले सिफारिस गरेको नाम संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि योग्यता पुगेका दुई जना वरिष्ठ न्यायाधीश दीपकराज जोशी र चोलेन्द्रशमशेर राणाको नाम संवैधानिक परिषद्मा पठाएको छ । 

संसदीय सुनुवाई समितिले जोशीलाई यसअघि नै प्रधानन्यायाधीशका लागि अस्वीकृत गरेको थियो ।

संवैधानिक परिषद्को बैठकमा नयाँ ८ वटा संवैधानिक आयोगमा नियुक्ति गर्ने विषयमा समेत छलफल हुने बताइएको छ ।

साविकका अख्तियार, लोकसेवा, निर्वाचन र मानव अधिकार आयोग बाहेक संविधानले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाती आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोग रहने व्यवस्था गरेको छ ।