२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


प्रदेश नम्बर ५ मा सपथको यसरी हुँदैछ तयारी, चिटिक्क पारियो संसद भवन


0
Shares

प्रदेशका अस्थायी राजधानीमा स्थापना गरिएका प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेसँगै प्रदेश सांसद्को सपथ, मुख्यमन्त्री नियुक्त गर्ने, प्रदेशसभाले पारित गरेको विधेयक प्रमाणीकरणजस्ता काम गर्नेछन् ।

प्रदेशमा नेपाल सरकारको प्रतिनिधिका रुपमा जिम्मेवारी सम्हाल्न पाँच नम्बर प्रदेशका प्रदेश प्रमुख उमकान्त झा राजधानी बुटवल पुगेका छन् ।

प्रदेश प्रमुख झाले आज बिहान १० बजे प्रदेश प्रमुखको कार्यालयमा पुगेर पदभार ग्रहण गर्ने छन् । प्रदेश प्रमुखको कार्यालय रुपन्देही व्यापार संघको भवनमा स्थापना गरिएको छ ।

त्यसपछि प्रमुख झाले बिहान ११ बजे संसद भवनमा पुगेर प्रदेश सभा सदस्य मध्ये जेष्ठ सांसद बलदेव शर्मा पोखरेललाई सपथ खुवाउने छन् ।

जेष्ठ सांसद पोखरेलले प्रदेश प्रमुखको उपस्थितिमा अरु सांसद्हरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउने छन् । संसद्ले सभामुख चयन नगर्दासम्म पोखरेलले नै सभामुखको भूमिका निर्वाह गर्ने छन् ।

संसद भवन चिटिक्क

pradesh5

प्रदेश सांसद्को सपथका लागि संसद् भवन चिटिक्क पारिएको छ ।

सरकारले अस्थायी राजधानी तोकेपछि बुटवलस्थित सरकारी तथा संस्थागत कार्यालयहरुको अवलोकन गरेर खयरघारीस्थित बुटवल उद्योग वाणिज्य संघको सभाहललाई संसद् भवन तोकिएको हो ।

सोही भवनमा सांसद्हरुको सपथ ग्रहण कार्यक्रम तय भएको छ ।

प्रदेश सभाका प्रत्यक्ष तर्फ निर्वाचित ५२ जना र समानुपातिकबाट निर्वाचित ३५ जना गरी ८७ जनाले आज सपथ लिनेछन् ।

सपथ स्थल तोकिएको भवनमा आवश्यक कुर्सी र अन्य व्यवस्थापन पूरा भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिए ।

सांसदहरुको सपथका लागि प्रदेश प्रमुख उमाकान्त झा हिजो शनिबार बेलुका बुटवल आईसकेका छन् । ‘म बुटवल आईपुगेँ, झाले भने, ‘मैले बिहान १० बजे कार्यभार सम्हाल्नेछु ।’

प्रदेश प्रमुखको कार्यालयको पनि व्यवस्थापन गरिसकिएको प्रदेश प्रमुखको सचिवालयका निमित्त सचिव शम्भुप्रसाद रेग्मीले बताए ।

‘प्रदेश प्रमुखज्यूले बिहान सचिवालयमा पदभार ग्रहण गर्ने कार्यक्रम छ र त्यसपछि संसद् भवनमा सांसद्हरुको सपथ हुने छ ।’

सांसदहरुको सपथ बिहान ११ बजे हुनेछ । जसका लागि प्रदेश सांसद्हरु बुटवल आईसकेका छन् । संसद् भवन र प्रदेश प्रमुखको सचिवालय स्थापनाअघि जिल्ला स्थित सुरक्षा निकायका अधिकारी निरिक्षण गरेका छन् ।

प्रदेश प्रमुखको पदभार र सांसद्हरुको सपथ ग्रहणलाई भव्य बनाउनका लागि जिल्लाका सरकारी कर्मचारी, सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

को-को आउँछन् सपथ समारोहमा

८७ जना प्रदेश सांसद्को सपथ ग्रहण हुने भएपनि सपथ ग्रहण समारोहमा अन्य विशिष्ट व्यक्तिहरुको समेत उपस्थिति रहनेछ ।

सपथ ग्रहण समारोहमा नेपाल प्रहरीका संघीय ईकाई प्रमुख, शसस्त्र प्रहरी, नेपाली सेनाका अधिकारीहरु, जिल्ला न्यायाधीश, प्रमुख जिल्ला अधिकारी, प्रतिनिधि सभाका सांसद्, स्थानीय तहका प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधिहरु, सञ्चारकर्मीहरुको उपस्थिति रहनेछ । जसका लागि त्यसैअनुसारको व्यवस्थापन गरिएको छ ।

सबैभन्दा अगाडिपट्टि मञ्चमा प्रदेश प्रमुख, जिल्ला न्यायाधीश, राजनीतिक दलका प्रतिनिधिलगायत रहनेछन् ।

तलपट्टि अघिल्तिर प्रदेश सांसद्हरु, त्यसपछि सरकारी अधिकारीहरु र त्यसभन्दा पछाडि सञ्चारकर्मीहरु र स्थानीय उद्योगी व्यवसायीलगायतका लागि कुर्सी व्यवस्थापन भईसकेको छ ।

सुरक्षा रणनीति हेरफेर

बुटवलमा प्रदेश प्रमुखको पदभार र सांसद्हरुको सपथ हुने भएपछि जिल्लाको सुरक्षा रणनीतिमा हेरफेर गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी श्याम ज्ञवालीले प्रदेश प्रमुखको पदभार र सांसदहरुको सपथलाई मध्यनजर गर्दै बुटवलमा सुरक्षाकर्मीको संख्या थप गरिएको बताए ।

‘हाई प्रोफाईलको आवागमनलाई ध्यानमा राखेर हामीले नियमितको तुलनामा सुरक्षा व्यवस्था चुस्त बनाएका छौं,,उनले भने । प्रदेश प्रमुख र सांसदहरुको सुरक्षार्थ थप प्रहरी बल खटाएको बताए ।

प्रदेश प्रमुखको सचिवालय, संसद् भवन, मन्त्रालयहरुका लागि प्रस्तावित भवन र आसपासमा सुरक्षा टोली खटाएको उनले बताए ।

यसरी हुनेछ ट्राफिक व्यवस्थापन

प्रदेश प्रमुख र प्रदेश सांसद्को आगमनले बुटवलमा ट्राफिक जाम हुन नदिन थप प्रहरी खटाएको छ ।

पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख कृष्णहरि शर्माले बुटवलमा ट्राफिक व्यवस्थापनमा कठिनाई नहोस् भनेर आसपासका जिल्लाबाट थप जनशक्ति ल्याएको बताए ।

‘हामीले आज बुटवल बसपार्कदेखि कृषि उपज केन्द्रसम्मको सडकमा सार्वजनिक सवारी, भाडाका गाडी चल्न दिनेछैनौं, त्यसको सट्टामा अर्को बाटो प्रयोग गर्नुपर्नेछ र जेसिज चोक क्षेत्र र व्यापार संघ आसपासको क्षेत्रमा पनि त्यसै गरिनेछ,–उनले भने ।

उनले राजमार्ग क्षेत्रमा पनि ट्राफिक समस्या उत्पन्न नहुने बताए । ‘भिआईपीको सवारी हुने समयमा सामान्य अवरोध हुनसक्छ, तर अन्य समयमा ट्राफिकमा समस्या आउँदैन, उनले भने–त्यसैअनुसारको व्यवस्थापन गरेका छौं ।’

यी कार्यालयमा रहनेछन् मन्त्रालयहरु

पाँच नम्बर प्रदेशमा हुने मन्त्रालयका लागि बुटवल स्थित श्रम कार्यालयका नवनिर्मित ६ तले भवन, सरकारी वकिलको कार्यालय भवन, आन्तरिक राजश्व कार्यालयको भवन, राजश्व अनुसन्धानको भवनमा पनि आबश्यक तयारी थालिएको छ ।

सपथ ग्रहण हुने सभाहललाई नै तत्कालका लागि प्रदेश सभा बैठक स्थलका रुपमा प्रयोग गर्ने तयारी छ ।

उद्योग वाणिज्य संघको सचिवालयमा नै सभामुख र उपसभामुखको कार्यकक्ष सहित संसद सचिवालय राख्ने तयारी छ । प्रदेश प्रमुखको निवासका लागि सीप विकास तालिम केन्द्रको भवन तयार पारिदै छ ।

भवन तयार नहुँदासम्मका लागि प्रदेश प्रमुखको बसाई सडक डिभिजनको अतिथि निवासमा हुनेछ ।

प्रदेश प्रमुखको सुरक्षामा सेना

सरकारले प्रदेश प्रमुखलाई नेपाली सेनाको सुरक्षा दिएको छ । मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखलाई मन्त्रीसरहको सुरक्षा प्रदेश प्रमुखलाई दिने निर्णय गरेको थियो ।

सातै प्रदेशका प्रदेश प्रमुखलाई सेनाको सुरक्षा रहेको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले बताए । प्रदेश प्रमुखको निवास र कार्यालयको सुरक्षा भने नेपाल प्रहरी र सशस्त्र प्रहरीले गर्नेछन् ।

नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले सपथ ग्रहणपछि नै सेनाले प्रदेश प्रमुखलाई सुरक्षा दिएको जानकारी दिए । उनका अनुसार प्रमुखको अंगरक्षकमा सेनाले पदीक खटाएको छ ।

गृह मन्त्रालयले सातै प्रदेश प्रमुखलाई गाडी सुविधा समेत उपलब्ध गराएको छ। प्रदेशमा प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, उपसभामुख, मन्त्रीको सुरक्षामा पिएसओ दिने तयारी गरेको छ ।

प्रत्येक प्रदेशमा नेपाल प्रहरीले गण स्थापनाको तयारी समेत गरेको छ । एउटा गणमा १ हजार ५ सय प्रहरी रहन्छन् । प्रदेशमा भिआइपी मुभमेन्ट हुने भएपछि सुरक्षा योजना समेत तयार पारिएको प्रहरीले जनाएको छ ।

उद्योगी व्यवसायी उत्साहित

बुटवलमा प्रदेश नम्बर पाँचको कार्यालय स्थापना भएसँगै उद्योगी व्यवसायीहरु उत्साहित भएका छन् ।

बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजूले भने–‘हामीलाई गर्व लागेको छ, हाम्रै भवनमा सासद्हरुको सपथ हुँदैछ र हामीले पनि यसमा सहयोग गर्ने मौका पायौं, अब बुटवललाई नै स्थायी राजधानी बनाएर यो क्षेत्रले विगतमा गरेको हरेक खालको योगदानको कदर गर्न आवश्यक छ ।’

उनले आवश्यक परेमा सरकारलाई संघको सबै भवन उपलब्ध गराउने बताए । ‘हामीले भवन दिन्छौं समस्या हुँदैन भनेपछि राजधानी यहाँ तोकिएको छ, अब स्थायी राजधानी छिटै तोकियोस् हामी त्यसका लागि के गर्नुपर्छ तयार छौं, बुटवलबाट राजधानी सार्ने विषयमा कसैले सोच्न पनि नसोंचोस् ।’–उनले भने ।

रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठले बुटवलमा राजधानी तोकेर संघको भवनमा प्रदेश प्रमुखको कार्यालय राखेकोमा खुशी व्यक्त गरे ।

‘हामीले यसलाई अवसरको रुपमा लिएका छौं,–उनले भने–अब बुटवलबाहेक अन्यत्र राजधानी लग्ने कुरा सोंच्न पनि हुँदैन ।’