
१० वर्ष अघि निर्माण प्रक्रिया थालिएको प्रसारण लाइन निर्माणको कामले अपेक्षित गति नलिँदा दोस्रोपटक थपिएको समय सकिँदा पनि आयोजनाको काम ७० प्रतिशत मात्र पूरा भएको छ ।
पाँचथर, इलाम, ताप्लेजुङ र तेह्रथुममा उत्पादन गरिएको बिजुलीलाई मुलुकको विद्युत् प्राणालीमा जोड्ने उद्देश्यका साथ करिडोर निर्माण प्रक्रिया अघि बढाइएको थियो ।
करिडोर निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले पर्याप्त जनशक्ति परिचालन गर्न नसक्दा कामले तीव्रता नपाएको काबेली करिडोरका प्रमुख दिपेन्द्रराज द्विवेदीले जानकारी दिए ।
दोस्रो पटक थपिएको म्याद आगामी वैशाख १० गते सकिँदैछ । वैशाखसम्ममा पनि करिडोरको काम सकिने सम्भावना कम रहेको उनले बताए ।
नेपाल विद्युत् प्राधिकरणले २०६३ सालदेखि करिडोर निर्माणको प्रक्रिया अघि बढाएको थियो ।
विश्व बैंक, नेपाल सरकार र नेपाल विद्युत् प्राधिकारणको कुल ३ अर्ब ५९ करोडको लागतमा करिडोर निर्माणको काम अघि बढाइएको हो ।
८० प्रतिशत विश्व बैंकको लगानीमध्ये १५ प्रतिशत अनुदान र ६५ प्रतिशत ऋण लगानीमा काम अघि बढाइएको हो ।
निर्धारित समयमा करिडोरको काम सम्पन्न नहुँदा पाँचथर, इलाम र ताप्लेजुङमा निर्माणाधीन जलविद्युत् आयोजना निर्माणको काम पनि प्रभावित भएको छ ।
प्रतिक्रिया दिनुहोस्