२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


प्रदेश–७ मा ५३ सदस्यमध्ये ५२ जनाले लिए शपथ


0
Shares

बिहान ११ बजे हुने भनिएको शपथग्रहण कार्यक्रम दिउँसो २ बजेमात्र सुुरु भएको थियो ।

प्रदेशप्रमुख मोहनराज मल्ल काठमाडौंबाट आउन ढिलाइ भएका कारण शपथ कार्यक्रम ढिलो सुरु भएको हो । मौसममा आएको खराबीका कारण प्रदेशप्रमुख मोटर बाटो हुँदै धनगढी आएका थिए ।

धनगढी पुगेलगत्तै घरेलु कार्यालयमा रहेको प्रदेशप्रमुखको कार्यालयमा पदभारग्रहण गरेलगत्तै उनी जिल्ला समन्वय समितिको हलमा पुगेका थिए ।

प्रदेशप्रमुख मल्लले प्रदेशसभाका ज्येष्ठ सदस्य दिव्यश्वरी शाहलाई पद तथा गोपनीयताको शपथग्रहण गराए । त्यसलगत्तै शाहले अरु प्रदेश सांसदहरुलाई शपथ गराइन् ।

प्रदेश–७ मा प्रत्यक्षबाट ३२ र समानुपातिकबाट २१ गरी कुल ५३ जना प्रदेशसभा सदस्य रहेका छन् ।

शपथ कार्यक्रममा एकजना सदस्य भने अनुपस्थित रहे । अनुपस्थित हुनेमा डोटीका भरत खड्का सांसद सचिवालयले जानकारी दिएको छ ।

सोक्रममा समानुपातिकबाट सदस्य चुनिएकी चुनकुमारी चौधरी पनि अनुपस्थित रहेकी थिइन् । तर, उनले आइतबारै पछि शपथ लिएकी छन् । उनी काठमाडौंबाट आइपुग्न ढिला हुँदा उनले पछि शपथ लिएको जनाइएको छ ।

अहिलेलाई प्रदेशसभा बैठकका लागि जिल्ला समन्वय समितिको हललाई नै प्रयोग गरिने बताइएको छ ।

यसअघि, धनगढी आउँदै गरेका प्रदेशप्रमुख मल्ललाई बौनियामा रहेकी उनकी माइली आमाले सगुनस्वरुप दही खुवाएर टीका लगाइ आशिर्वाद दिएकी थिइन् ।

मल्ल आउने जानकारी पाएपछि राजमार्गमा रहेको बौनिया र सुखडमा स्थानीयहरुले भव्य स्वागत गरेका थिए ।

पदभारग्रहणपछि प्रदेशप्रमुख मल्लले आफूले पाएको जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।