२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राष्ट्रियसभा निर्वाचनमा क–कसको तालमेल ? (भिडियो)


0
Shares

नेपाली कांग्रेसले भने मधेसी गठबन्धनलगायत अरु दलसँग तालमेलका लागि छलफल गरिरहेको छ ।

दुई पार्टी एकीकरण गर्ने तयारीमा रहेका वाम गठबन्धनका दुई दल नेकपा एमाले र माओवादी केन्द्रबीच राष्ट्रियसभा निर्वाचनका लागि तालमेल गरेर सिट बाँडफँटसमेत भइसकेको छ ।

५६ जना निर्वाचित हुने राष्ट्रियसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रले ७० र ३० प्रतिशतको आधारमा मोटामोटी सिट बाँडफाँट गरिसकेको भएपनि औपचारिक निर्णय हुन बाँकी छ ।

अन्य प्रदेशमा बलियो रहेको वाम गठबन्धन प्रदेश नम्बर–२ मा केही कमजोर देखिएको छ । त्यसैले वाम गठबन्धनले राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालसँग २ नम्बर प्रदेशमा तालमेल गर्ने रणनीति लिएको छ ।

यस्तै, मधेसी गठबन्धनमा आबद्ध राजपा र संघीय समाजवादी फोरमसँग प्रदेश नम्बर–१, ५ र ७ मा पनि केही सिट रहेकाले ती सिट आफूतिर तान्ने प्रयासमा वाम गठबन्धन लागेको छ ।

तर, वाम गठबन्धन र मधेसकेन्द्रित दुई दलबीच तालमेलका लागि औपचारिक छलफल भने भएको छैन ।

यता, नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा मधेसी गठबन्धनमा आबद्ध दुई दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालसँग तालमेल गर्ने प्रयास गरिरहेको छ । यी तीन दलबीच तालमेलका लागि औपचारिक छलफल नभएपनि अनौपचारिकरुपले शनिबारदेखि नै गृहकार्य सुरु भइसकेको छ ।

मधेसी गठबन्धनसँग तालमेल गरेर चुनाव लड्दा केही सिट बढी जितिने आँकलन गरेर कांग्रेस मधेसी गठबन्धनसँग तालमेल गर्नका लागि छलफलमा जुटेको हो ।

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले राष्ट्रियसभा निर्वाचनमा मधेसकेन्द्रित दलहरुसँग तालमेलका लागि प्रयास भइरहेको जानकारी दिए ।

मधेसी गठबन्धनमा आबद्ध दुई दल राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालले पनि राष्ट्रियसभा निर्वाचनमा कांग्रेससँगको तालमेललाई प्राथमिकतामा राखेका छन् ।

वाम गठबन्धनबाट तालमेलका लागि औपचारिक प्रस्ताव नआएको र कांग्रेससँग मिलेर चुनाव लड्दा बढी सिट हासिल गर्नसकिने भएकाले मधेसी गठबन्धन तालमेलका लागि सक्रिय भएका हुन् ।

राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले तालमेलका लागि कांग्रेस प्राथमिकतामा रहेका भन्दै सिट बाँडफाँटमा कुरा मिले तालमेल हुने बताए ।

माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आगामी बुधबार उम्मेदवार मनोनयनको कार्यक्रम रहेकाले सोमबारसम्म उम्मेदवारी टुंगो लगाउने गरी तीन दलबीच छलफल भइरहेको छ ।

नेपाली कांग्रेसले मधेसी गठबन्धनसँगै राप्रपा र विवेकशील साँझापार्टीसँग पनि तालमेल गर्न छलफल गरिरहेको छ ।

भिडियो हेर्नुहोस्