
निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिकाअनुसार आइतबार सातओटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित गरेको छ ।
आयोगले प्रकाशन गरेको नामावलीअनुसार प्रदेश नम्बर–१ मा ३६७, प्रदेश नम्बर–२ मा ३७९, प्रदेश नम्बर–३ मा ३४८, प्रदेश नम्बर–४ मा २३०, प्रदेश नम्बर–५ मा ३०५, प्रदेश नम्बर–६ मा १९८ र प्रदेश नम्बर–७ मा २२९ मतदाता रहेका छन् ।
आयोगको निर्वाचन तालिकाअनुसार माघ १० गते उम्मेदवारको मनोनयन दर्ता, माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र माघ २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।
आयोगले प्रदेश नम्बर–१ मा मोरङको विराटनगर, प्रदेश नम्बर–२ मा धनुषाको जनकपुरधाम, प्रदेश नम्बर–३ मा ललितपुरको पाटन, प्रदेश नम्बर–४ मा कास्कीको पोखरा, प्रदेश नम्बर–५ मा दाङ, प्रदेश नम्बर–६ मा सुर्खेत र प्रदेश नम्बर–७ मो डोटीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित गरेको छ ।
राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा एक हजार ५०६ र सातओटा प्रदेशबाट निर्वाचित प्रदेशसभा सदस्य जम्मा ५५० गरी कुल दुई हजार ५६ जना मतदाताले मताधिकार प्रयोग गर्ने संवैधानिक व्यवस्था छ ।
स्थानीय तहमा ७१८ महिला र ७८८ पुरुष छन् भने प्रदेशसभामा पुरुष ३६१ र महिला १८९ मतदाता रहेका छन् ।
निर्वाचनका लागि सात स्थानमा १४ मतदान केन्द्र रहने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
निर्वाचनमा प्रदेशसभाका सदस्यको मतभार ४८ हुनेछ भने स्थानीय तहका पदाधिकारीको मतभार १८ हुने आयोगले जनाएको छ ।
राष्ट्रियसभाको गठन एकल संक्रमणीय निर्वाचन प्रणालीका आधारमा हुनेछ । नेपालको संविधानको धारा ८६ अनुसार राष्ट्रियसभा स्थायी सदन हुनेछ ।
राष्ट्रियसभाको पदावधि ६ वर्षको हुनेछ । तर, यो संविधान प्रारम्भ भएपछि पहिलोपटक सदस्यको पदावधि कायम गर्दा गोलाप्रथाको माध्यमबाट एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको ६ वर्ष पदावधि कायम रहनेछ ।
धारा ८६ अनुसार यस सभामा निर्वाचकमन्डलको मतको भार फरक हुने गरी प्रत्येक प्रदेशबाट कम्तीमा तीनजना महिला, एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित ८ जना गरी निर्वाचित ५६ जना रहन्छन् ।
त्यस्तै, सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एकजना महिलासहित तीनजना गरी जम्मा ५९ सदस्य रहने संवैधानिक व्यवस्था छ ।
संविधानअनुसार संघीय व्यवस्थापिका प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक छ । त्यसमध्ये प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्