२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


झुम्सा-बुटवल खानेपानी योजना अन्तिम चरणमा


0
Shares

दुई दशकअघि शुरु भएको सिस्ने–बुटवल खानेपानी योजनामा करोडौं लगानी भैसकेपछि बीचमै अलपत्र परेपछि झन्डै १० वर्षअघि शुरु गरिएको अर्को झुम्सा–बुटवल खानेपानी योजना भने छिट्टै पुरा हुने अवस्थामा पुगेको हो ।

सिस्ने–बुटवल खानेपानी योजना अलपत्र परेपछि त्यसकै केही पूर्वाधार उपयोग हुने गरी झुम्सा–बुटवल खानेपानी योजना शुरु गरिएको थियो ।

विभिन्न समस्या र कठिनाइका बाबजुद यो आयोजनाको काम हालसम्म ९० प्रतिशत पूरा भएको छ ।

करिब १० वर्ष अघि शुरु गरिएको योजना निर्माणको काम पूरा भएपछि बुटवलबासीको खानेपानी समस्याको दीर्घकालीन समाधान हुने छ ।

आयोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । खानेपानी कार्यालय बुटवलका अनुसार पुरानो योजनामध्ये ९० प्रतिशत काम सम्पन्न भएको छ, जसमा १६ करोड रुपैयाँ खर्च भैसकेको छ ।

बढ्दो जनसंख्यालाई मध्यनजर गर्दै योजनाका लागि सरकारले १ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

झुम्साबाट पानी ल्याउनका लागि बाँधक्षेत्रमा निर्माण गरिएको इनटेक लगायतका भौतिक संरचना बाढीले बगाएपछि योजना पुरा हुन ढिला भएको कार्यालयका प्रमुख मोहन भट्टले जानकारी दिए ।

बुटवलवासीको निकै प्रतिक्षामा रहेको यो खानेपानी योजना निर्माणमा ढिलाई हुनुको कारण बारे आलोचना हुन थालेपछि खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले स्थलगत निरीक्षण गरेका छन् ।

राज्यमन्त्री रज्जाकले आयोजना निरीक्षण गर्दै छिटो काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । भुम्साबाट पानी आएपछि बुटवलबासीले स्वच्छ पानी पिउने सपना साकार हुने छ ।