२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


पाँच महिनामै व्यापार घाटा ४ खर्ब


0
Shares

आर्थिक वर्ष २०७४/७५ को मंसिरसम्म कुल वस्तु व्यापार घाटा ३ खर्ब ९७ अर्ब ७९ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १३ प्रतिशतले बढी हो ।

समीक्षा अवधिमा कुल वस्तु आयात १२.८ प्रतिशतले बढेर ४ खर्ब ३१ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७८ प्रतिशतले बढेको थियो ।

यस अवधिमा कुल वस्तु निर्यात १० प्रतिशतले वृद्धि भइ ३३ अर्ब ७० करोड रुपैयाँमात्र पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १७ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधिमा भारतबाट १३ प्रतिशत, चीनबाट १.४ प्रतिशत र अरु मुलुकबाट १८ प्रतिशतले आयात बढेको केन्द्रीय बैंकले जनाएको छ ।

समीक्षा अवधिमा भारततर्फ ५.५ प्रतिशत, चीनतर्फ ७८ प्रतिशत र अरु मुलुकतर्फ १२ प्रतिशतले निर्यात बढेको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, सुनलगायतका वस्तुको आयात बढेको छ । कृषिऔजार तथा पार्टपुर्जा, विद्युतीय सामान, खानेतेल, ड्राइसेल ब्याट्रीलगायतका वस्तुहरुको आयात घटेको केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै, पशुआहार, वनस्पती घ्यू, धागो, जिंक सिट, तयारी पोसाकलगायतका वस्तुको निर्यात बढेको छ । जुस, अलैंची, जीआइ पाइप, ऊनीगलैंचा, तामाका तारलगायतका वस्तुहरुको निर्यात घटेको छ ।