
रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) सौराहा र रेवान महिला समूहको संयुक्त आयोजनामा यही माघ २८ देखि फागुन ३ गतेसम्म पाँच दिन १२औं संस्करणको सौराहा फुड फेस्टिभल हुन लागेको हो ।
प्रणय दिवसका दिन आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सौराहासम्म ल्याउन फुड फेस्टिभल आयोजना गर्न लागिएको संयोजक कपिल रेग्मीले जानकारी दिए ।
फेस्टिभलमा नेपाली र विदेशी विभिन्न खानाका परिकारका साथै मनोरन्जनात्मक कार्यक्रमहरुसमेत राखिने रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले बताए ।
फेस्टिभलमा चितवनमा रहेका विभिन्न जातजाति, आमा समूह, भजन समूहलगायत अरु संघ–संस्थाका झाँकी प्रदर्शनी र प्रतियोगिता, सांगीतिक तथा साँस्कृतिक प्रस्तुतिसमेत रहने जनाइएको छ ।
त्यसैगरी, फेस्टिभल अवधिभर सौराहा रेवानमा आवद्ध रेस्टुरेन्ट तथा होटलहरुमा १५ प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको फेस्टिभल संयोजक रेग्मीले जानकारी दिए ।
यस्तै, फेस्टिभलमा रेस्टुरेन्ट कर्मचारीबीच वेटर रेस प्रतियोगिता, प्रेमपत्र लेखन प्रतियोगिता, तेक्वान्दो प्रतियोगिता, महिलाहरुबीच म्युजिकल चेयर प्रतियोगिता, ९ वर्षमुनिका बालबालिकाहरुबीच बेलुन फुटाउने प्रतियोगिता, उत्कृष्ट खाना प्रतियोगिता, घैला रङगाउने प्रतियोगितालगायत राखिएको आयोजकले जनाएको छ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सौराहा फुड फेस्टिभलले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
रत्ननगर नगरपालिका–७, सिसुवार खेलमैदानमा फेस्टिभल गर्न लागिएको हो ।
प्रतिक्रिया दिनुहोस्