
दुई दलबीच सांगठनिक संरचना र वैचारिक पक्षमा अझै ठोस छलफलसमेत हुन सकेको छैन ।
एमाले अध्यक्ष केपी शर्मा ओली माघ ३ गते थाइल्यान्डबाट उपचार गरेर फर्केपछि एकपटकमात्र दुई पार्टीका शीर्ष नेता सम्मलित एकता संयोजक समितिको बैठक बसेको छ । उक्त बैठक पनि पार्टी एकताभन्दा राष्ट्रियसभा र प्रदेशसभामा केन्द्रित रह्यो ।
समितिले राष्ट्रियसभासम्बन्धी कार्यदलले बुझाएको प्रतिवेदन अनुमोदन गर्यो । तर, पार्टी एकतासम्बन्धी कुनै ठोस निर्णय भएन ।
पार्टी एकताबारे दुई पार्टीका अध्यक्षबीच पटक–पटक छलफल भएपनि देखिने गरी कुनै सहमति हुनसकेको छैन । दुई पार्टीका अध्यक्षबीच पार्टी नेतृत्वबारे विभिन्न ‘मोडालिटी’मा छलफल भएको र सहमतिनजिक पुगेको दाबी गरिँदै आएको छ ।
तर, एमाले पोलिट्ब्युरो सदस्य विष्णु रिमालले पार्टी एकता सम्बन्धमा अनुमानका भरमा कुराहरु बाहिर आएको बताए ।
पार्टी एकताका लागि दुई पार्टीका अध्यक्षबीचको छलफल होस् या एकता संयोजक समितिको बैठक होस् वैचारिकभन्दा सांगठनिक विषयमा छलफल केन्द्रित हुने गरेको छ ।
एमालेले एकीकृत पार्टीको संरचना र वैचारिक कार्यदिशा तय गर्न आगामी बस्ने शीर्ष नेताको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
दुई पार्टीका फरक पृष्ठभूमि भएकाले पार्टी एकताले समय लिने रिमालको भनाइ छ ।
सार्वजनिकरुपले भन्न नसकेपनि माओवादी केन्द्रका नेताहरुले भने पार्टी एकता प्रक्रियाले अपेक्षित गति लिन नसकेको स्वीकार गरेका छन् ।
माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले पार्टी एकताका लागि औपचारिक र अनौपचारिक छलफल चलिरहेकाले केही दिनभित्रै एकता प्रक्रियाले गति लिने बताए ।
प्रतिक्रिया दिनुहोस्