
प्रेस चौतारी अछाम शाखाले शुक्रबार साँफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले वर्तमान सरकारले गरेका कतिपय निर्णय असंवैधानिक र राष्ट्रहीत विपरीत भएको बताउँदै भावी सरकारलाई उक्त निर्णयहरु मान्य नहुने चेतावनी दिए ।
सरकारले सामाजिक सुरक्षा र भूकम्पपीडितको राहतसम्बन्धी गरेको निर्णय देशलाई कंगाल बनाउने कदम भएको उनको भनाइ थियो । ‘कामचलाउमा परिणत भइसकेको र जनादेश गुमाइसकेको वर्तमान सरकारलाई त्यसो गर्ने अधिकार छैन,’ उनले भने, ‘सरकारमा रहिरहन जालझेल, षड्यन्त्र, तिकडम गर्ने र त्यो सफल नभएपछि देशलाई नै कंगाल बनाउने, आर्थिक संकटमा फसाउने, प्रतिकूलता बढाउने र संचित रकम ध्वस्त पारिदिने लगायतका क्रियाकलाप गर्न मिल्दैन ।’
वृद्ध भत्ता पाउने उमेर ७० बाट ६५ वर्षमा झार्ने तथा भूकम्प र बाढीपीडितलाई घर निर्माणका लागि राहत स्वरुप १ लाख रुपैयाँ थप गर्ने सरकारको निर्णयले चर्को आलोचना खेपिरहेका बेला त्यसविरुद्ध एमाले उपाध्यक्ष रावल कडा रुपमा प्रस्तुत भएका हुन् ।
उपाध्यक्ष रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश राजधानी तोक्ने विषयमा नागरिकमा गलत भ्रम सृजना गरेको बताए । ‘सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नको लागि वामगठबन्धनले सुझाव दिएको हो,’ उनले भने, ‘कामचलाउ सरकारले गरेको अस्थायी मुकाम मान्न वामगठबन्धन तयार हुँदैन ।’
प्रदेश नं ७ को अस्थायी मुकाम धनगढीमा तोक्ने विषयमा कांग्रेसका कार्यकर्ताहरुले आन्दोलन गर्नुको कुनै अर्थ नभएको पनि उनले बताए । अहिलेको तोकिएको मुकाम अस्थायी भएकाले प्रदेश सभाको वैठकले सवै जनतालाई पायक पर्ने स्थानमा राजधानी तोक्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्