Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


देश अब आर्थिक विकास र समृद्धिको यात्रामा : दाहाल


0
Shares

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भई मुलुकले समृद्धितर्फको यात्रा सुरु गरेकाले अब प्राविधिक जनशक्तिको महत्वपूर्ण भूमिका हुने उनले प्रष्ट पारे ।

आफ्नै निवास खुमलटारमा शुक्रबार राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको विद्यार्थी संगठनका महासचिव चन्द्रभूषण साहसहित विद्यार्थी नेतालाई माओवादी केन्द्रमा प्रवेश गराउँदै दाहालले तराई– मधेशको माग सम्बोधन गर्दै आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्न वाम गठबन्धन तयार रहेको बताए ।

‘हामीले राजनीतिक क्रान्ति धेरैपटक गर्‍यौं, अब आर्थिक क्रान्ति र समृद्धिको यात्रामा अघि बढ्नुछ,’ उनले भने, ‘त्यसका लागि तपाईहरु जस्ता प्राविधिक जनशक्तिको महत्वपूर्ण भूमिका हुन्छ । हामी मधेशलाई सम्बोधन गर्ने कोशिसमा छौं । तर, अब सबै कुरा शान्तिपूर्ण रुपमा, संविधानको दायराबाट पुरा गर्न सकिन्छ । मधेशलाई विकास र समृद्धि चाहिएको छ, बामपन्थी सरकारले त्यसमा जोड दिनेछ ।’

पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका नेता प्रभु साहले मधेशमा विद्यमान विभेद्को सम्बोधन विकास र समृद्धिबाट सम्भव हुने बताए ।

सो अवसरमा नवप्रवेशी साहले माओवादी पार्टी नै मधेशी जनताको अधिकारको पक्षमा लड्ने भएकाले आफूहरुले पार्टी प्रवेश गरेको र निरन्तर क्रियाशील हुने बताए ।

कार्यक्रममा महासचिव साहसहित तमलोपाका पूर्व विद्यार्थी उपाध्यक्ष अजितपप्पु यादव, राजपाका विद्यार्थी सचिव ज्ञानकुमार कुशवाहा, मधेशी विद्यार्थी समाजका कोषाध्यक्ष वसन्त ठाकुरलगायतका विद्यार्थी नेता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्नेमा अधिकांश इञ्जिनियरिङ क्षेत्रका विद्यार्थी छन् ।