१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


बुटवलमा प्रदेश–५ को प्रदेश सरकारका कार्यालय रहने स्थान छानियो (भिडियो)


0
Shares

मुख्यमन्त्री र अरु मन्त्रालयका लागि १० ओटा कार्यालय प्रयोग गर्न लागिएको हो ।

सरकारले प्रदेश नम्बर–५ को अस्थायी मुकाम बुटवललाई तोकेपछि प्रदेश सरकारका कार्यालय राख्ने स्थानको मर्मत र सरसफाइ थालिएको छ ।

प्रदेश संसद बस्ने दिन नजिकिँदै गर्दा बुटवलमा प्रदेश सरकारको कार्यालय रहने स्थानको मर्मत र सरसफाइ तीव्रगतिमा भइरहेको छ ।

प्रदेशसभा बैठक तत्कालका लागि बुटवल उद्योग वाणिज्य संघको भवनमा हुनेछ । सभामुख र उपसभामुखको कार्यकक्षसहित संसद सचिवालय पनि त्यही भवमा राखिनेछ ।

प्रदेश मन्त्रालय भने श्रम कार्यालयकोे ६ तले भवनमा राखिने भएको छ ।

सीप विकास तालिम केन्द्रको भवनमा प्रदेशप्रमुखको कार्यालय र निवास राखिएको छ भने राजश्व अनुसन्धान बुटवलको भवनलाई मुख्यमन्त्रीको कार्यालय र निवास बनाइनेछ ।

त्यस्तै, मन्त्री निवास भने भैरहवाको भैरहवा लुम्बिनी भूमिगत जल सिँचाइ कार्यालयमा राख्ने तयारी गरिएको छ ।

प्रदेश सरकार सन्चालनका लागि प्रशासनिक एवं मन्त्रालय राख्न आवश्यक कार्यालयको छनोट गरिएको छ ।

प्रदेशप्रमुख उमाकान्त झा आफूहरुले समयसीमाभित्र सबै तयारी गरेर संसदको बैठक बोलाउन लागेको बताए ।

सहरी विकास मन्त्रालयको टोलीले बुटवलका १० ओटा संस्थाका तथा सरकारी कार्यालयका भवन प्रदेश सरकार सन्चालनका लागि छनोट गरेको थियो ।

कार्यालयहरुको मर्मत र व्यवस्थापनका लागि सात करोड ५० लाख रुपैयाँ रकम अनुमान गरी छुट्टाइएको सहरी विकास डिभिजन कार्यालय बुटवलका भवन डिभिजन प्रमुख सुरेश ठाकुरले जानाकारी दिए ।

आफूहरु चाँडै बैठक बस्न आतुर रहेको प्रदेशसभाका ज्येष्ठ सदस्य बलदेव पोखरेले बताए । सबै नयाँ व्यवस्था भएकाले केही समय लाग्ने उनको भनाइ छ ।

गौतमबुद्धको जन्मभूमि लुम्बिनी र देशकै प्रमुखमध्येको एक सीमानाका बेलहियाजस्ता धार्मिक र आर्थिक केन्द्रसमेत रहेको रुपन्देही सामरिक हिसाबलेसमेत महत्वपूर्ण रहेको छ ।

प्रदेशको अस्थायी राजधानीका कार्यालय व्यवस्थापन, मर्मत–सम्भार, सुरक्षा युनिटलगायतका संरचना निर्माण र मर्मतका लागि लागत अनुमान गर्ने काम भइरहेको छ ।

काम सकिएलगत्तै टेन्डर आह्वान गरेर पुराना सरकारी भवनको मर्मत–सम्हार गरिने तयारी भइरहेको जनाइएको छ ।

भिडियो हेर्नुहोस्