२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


चीनबाट कृषिजन्य सामाग्रीको आयात घट्यो


0
Shares

आर्थिक वर्षको पहिलो ६ महिनामा ३४ दशमलव ०२ प्रतिशतले आयात घटेको हो । चीनको केरुङबाट रसुवागढी नाका हुँदै साउनदेखि पुष मसान्तसम्ममा १३ हजार ३९ मेट्रिक टन सामग्री आयात भएको छ ।

रसुवागढी भन्सार कार्यालय टिमुरेले निकालेको अर्धवार्षिक तथ्याङ्क अनुसार ६५ करोड ३३ लाख ४८ हजार बराबरको सामग्री नेपाल भित्रिएको हो । गत आर्थिक वर्षको पहिलो ६ महिनामा १९ हजार सात सय ६३ मेट्रिक टन सामग्री आयातका लागि एक अर्ब ७२ लाख दुई हजार रकम बाहिरिएको थियो ।

यो वर्ष करुको पीठो, रेडिमेट मसला, ड्राइ मसरुम, क्वाची, बदाम, प्याज, कफी र ओखरको आयात बढेको छ भने स्याउ, नास्पाती, लसुन, अचार, भोटे चिया र गुुन्द्रुकको आयात घटेको छ ।

चीनबाट कृषिजन्य सामग्री आयातमा कमी आउँदा निर्यातमा उल्लेख्य बृद्धि भएको छ । रसुवागढी भन्सार कार्यालयका अनुसार ३१६ दशमलव ३९ प्रतिशतले निर्यात बढेको हो । तीन करोड २० लाख बराबरको बाँसको मुडा, काठको टेबल र अम्रिसोको कुचो निर्यात भएको छ ।

१२ हजार आठ सय ८० ओटा बाँसको मुडा निर्यात गर्दा ३१ लाख २० हजार, तीन हजार दुई सय ५० केजी काठको टेबलबाट २ करोड ६० लाख र १९ हजार दुई सय केजी अम्रिसोको कुचो निर्यात गर्दा २८ लाख ८० हजार आम्दानी भएको बताईएको छ । गत वर्ष साउनदेखि पुस मसान्तसम्म ७६ लाख ८५ हजारको सामग्री निर्यात भएको थियो ।