२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


शालीनदी मेलामा चौतर्फी लुट


0
Shares

मेलामा जाने यात्रीका लागि यातायातको ठूलो समस्या छ । रत्नपार्कबाट भद्रवास, डाँछी, आलापोट, गागलफेदी, साँखु र जहरसिंहपौवालगायत क्षेत्रको यातायातमा एकाधिकार जमाएको साँखु बस व्यवसायी संघका सवारी–साधन ‘रुट परमिट’अनुसार नचली ‘रिजर्भ’ जाँदा यात्री सडकमा अलपत्र बन्न बाध्य भए ।

मेलामा आउन घन्टौं सवारी–साधन कुरेर बस्दा पनि पाउन नसकेको पुल्चोकबाट आएकी रचना तण्डुकारको गुनासो छ । रत्नपार्कबाट साँखुको सवारी–साधन पाउन मुस्किल भएको उनले सुनाइन् ।

मेलाको अन्तिम शनिबार संघका सवारी चाबहिलसम्ममात्र सन्चालन भए । यसरी चलेका सवारी–साधनले पनि यातायात व्यवस्था विभागले तोकेभन्दा बढी भाडा असुले ।

चाबहिलसम्मको भाडा रु २७ तोकिएपनि कुनैपनि बसले रु ४० घटी नउठाएको यात्रीको भनाइ छ ।

साँखुमा लाखौं यात्री आएकाले सबैलाई सहज होस् भनेर साँखु–चाबहिलसम्ममात्र यातायात सन्चालन गरिएको संघका सचिव एलपी श्रेष्ठले सुनाए ।

संघले यात्रीलाई सहजरुपमा सेवा दिन चाबहिलसम्ममात्र सवारी चलाएको दाबी गरेपनि यात्रीले भने बढी भाडा लिने र मेलाको मौका छोपेर पैसा कमाउने उद्देश्यले यसो गरिएको गुनासो गरे ।

साँखुको पुरानो बसपार्कमा सयौं यात्रीले घेरिँदा सवारी–साधनका परिचालकले चाबहिलसम्ममात्र जाने र भाडा रु ४० लाग्ने भनेर चढाएको सूर्यविनायकबाट आएका यात्री श्यामकृष्ण थापाले बताए ।

संघले यो मार्गमा १२० सवारी सन्चालनमा रहेको दाबी गरेपनि आधा घन्टा कुर्दा पनि बस पाउन नसकिएको धेरै यात्रीले गुनासो गरे ।

श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष राजभाइ श्रेष्ठ अन्तिम शनिबार भएकाले पाँच लाखभन्दा बढी दर्शनार्थी आउँदा समग्र व्यवस्थापन गर्न धौ–धौ परेको बताउँछन् ।

साँखु–शालीनदी क्षेत्रमा मेलाको अवसरमा खुलेका होटलले पनि महँगो मूल्य असुलेको बनेपाबाट आएका भक्तजन रामचन्द्र श्रेष्ठले बताए ।

मेलाकै अवसरमा राखिएका तयारी पोसाक एवं अन्य सामग्रीका पसलले पनि बजार भाउभन्दा बढी नै मूल्य लिने गरेको उपभोक्ताको भनाइ छ ।

आफैं सवारी लिएर जाने यात्रीलाई पार्किङ शुल्कका नाममा मनलागी पैसा उठाइएको छ ।

चाबहिल–जोरपाटी–साँखु सडक विस्तार सम्पन्न नहुँदा धुलाम्य र खाल्डाखुल्डीले आवत–जावतमै समस्या छ । रासस