२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


संकटा दोस्रो स्थानमा उक्लियो, पुलिसले अग्रता जोगाउन सकेन


0
Shares

काठमाडौं, मंसिर २२ । न्यूरोड टिम (एनआरटी)लाई १—० ले हराउँदै संकटा क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

लिगमा शनिबार सुरु भएको सातौं चरणको खेलमा संकटालाई विजयी गराउन विदेशी खेलाडी एलोन म्यासवेलले निर्णायक गोल गरे ।

खेलको इन्जुरी समयमा म्याक्सवेलले गोल गर्दै संकटालाई महत्वपूर्ण ३ अंक दिलाएका हुन् ।

पुलिसले अग्रता जोगाउन सकेन

‘ए’ डिभिजन लिगअन्तर्गत् शनिबारै भएको पहिलो खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबले १/१ गोलको बराबरी खेले ।

हलचोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा भएको खेलमा पुलिसले १ गोलको अग्रता जोगाउन सकेन ।

खेलको ३१औं मिनेटमा भरत शाहले गोल गर्दैै पुलिसलाई अग्रता दिलाएका थिए । तर, ७०औं मिनेटमा हिमालयन शेर्पाका विश्वास श्रेष्ठले १ गोल फर्काउँदै खेल बराबरी गरे ।

यी खेलहरुपछि ‘ए’ डिभिजन लिग फुटबलको अंकतालिकामा ७ खेलबाट १८ अंक जोडेको संकटा दोस्रो स्थानमा उक्लिएको हो ।

समान १८ अंक नै भएपनि एक खेल कम खेलेको मनाङ–मर्स्याग्दी क्लब गोलअन्तरका आधारमा तालिकाको शीर्ष स्थानमा यथावत् छ ।

आइतबार तीन खेल

प्रतियोगिताअन्तर्गत् आइतबार तीन खेल हुनेछन् । एन्फा मैदान सातदोबाटोमा सशस्त्र प्रहरीको एपीएफ क्लब र सरस्वती युथ तथा थ्रीस्टार र जावलाखेल युथ क्लब भिड्दा हलचोक मैदानमा च्यासल युथ र फ्रेन्ड्स क्लब आमने–सामने हुनेछन् ।