
सुमन घिमिरे (रासस):
मोरङ, फागुन २ । वि.सं. २०२७ फागुन ११ गते भोजपुरको साविक थिदिंखा–५, पसलभञ्ज्याङ (हाल आमचोक गाउँपालिका–३) मा जन्मिएका शेरधन राई नेकपा एमालेबाट प्रदेश नम्बर–१ को मुख्यमन्त्रीमा बुधबार नियुक्त भएका छन् ।
प्रदेशप्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङले एमाले प्रदेश संसदीय दलका नेता राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । राई एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
वि.सं. २०४४ मा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका राई वि.सं. २०५६ सालको आमचुनावमा भोजपुर क्षेत्र नम्बर–२ बाट कान्छो सांसदकारुपमा विजयी भएका थिए ।
वि.सं. २०४९/५० सालमा अनेरास्ववियु भोजपुर जिल्ला अध्यक्ष, २०५० र २०५३ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य/पूर्वाञ्चल प्रमुख बनेका राईले २०४७ सालमा एमालेको संगठित सदस्यता प्राप्त गरेका थिए ।
वि.सं. २०४९ मा एमाले भोजपुरको जिल्ला कमिटी सदस्य, २०५१ सालमा दोस्रो जिल्ला अधिवेशनबाट सचिवालय सदस्य, २०५४ मा जिल्ला कमिटीको उपसचिव हुँदै २०५४ सालमा पार्टी विभाजन भएपछि सचिव हुँदै २०५४ सालदेखि २०७० सालसम्म गरी चार कार्यकाल उनी एमालेको जिल्ला अध्यक्ष बनेका थिए ।
वि.सं. २०७० वैशाख २७ गते एमाले वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत भएका राई २०७१ सालमा एमाले केन्द्रीय सदस्यमा निर्वाचित हुँदै हाल वैकल्पिक पोलिटब्यूरो सदस्य एवं प्रदेश नम्बर–१ को सहइन्चार्ज रहेका छन् ।
वि.सं. २०५६ को आमनिर्वाचनमा भोजपुर क्षेत्र नम्बर–२ बाट १८ हजार ४४७ मत प्राप्त गर्दै २७ वर्षको उमेरमा राईले संसदमा सबैभन्दा कान्छो सांसदकोरुपमा प्रतिनिधित्व गरेका थिए ।
वि.सं. २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा भोजपुर क्षेत्र नम्बर–२ बाट पराजित भएका राई २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा भने भोजपुर क्षेत्र नम्बर–२ बाट ११ हजार ९२७ मत ल्याएर निर्वाचित भएका थिए ।
वि.सं. २०७१ मा तत्कालीन व्यवस्थापिका–संसदको सुशासन तथा अनुगमन समितिको सभापति भएका राई वि.सं. २०७२ कात्तिक १९ गते सूचना तथा सन्चार प्रविधिमन्त्री एवं सरकारको प्रवक्ता बनेका थिए ।
गत मंसिरमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा भोजपुर ‘ख’बाट २० हजार ३३४ मत प्राप्त गरी निर्वाचित भएका राई गत माघ २६ गते प्रदेश नम्बर–१ को एमाले संसदीय दलको नेता बनेका थिए ।
मुख्यमन्त्रीमा नियुक्त भएसँगै रासससँग कुरा गर्दै राईले प्रदेश नम्बर–१ मा भएका स्रोत र साधनलाई उपयोग गर्दै देशकै समृद्ध प्रदेश निर्माण गर्ने अठोट व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्