
उनीहरुको नाम जोडेर प्राकृतिक बासस्थान (राप्ती नदी)मा पहिलोपटक गोही छाड्ने काम भएको छ । यसको मुख्य उद्देश्य गोही संरक्षणमा यी समुदायको सहभागिता अभिवृद्धि गर्नु हो ।
यसअघि कहिल्यैपनि गोही छाड्दा बोटे, मुसहर, माझी समुदायलाईसहभागी गराइएको थिएन । मन्त्री, नेता वा सरकारी अधिकारीको रोहवरमा गोही छाडिन्थ्यो ।
तर, शुक्रबार भने फरक गतिविधिका साथ सिमान्तकृत समुदायलाई केन्द्रविन्दुमा राखेर चिह्न लगाइ २४ ओटा घडियाल गोहीलाई राप्ती नदीमा छाडिएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष चितवन र जेडएसएल नेपालको सहयोगमा भएको उक्त कार्यक्रममा बोटे, मुसहरलेसमेत गोही समाएर नदीमा छाडे । जहाँ महिलासमेत सहभागी थिए ।
विगतमा नदीमा माछा मार्न राखिएका जालमा अड्किएर गोही मरेका उदाहरण छन् । त्यसैले यो नयाँ प्रयोगस्वरुप जिम्मेवार बनाइ संरक्षणमा चेतना दिन उनीहरुको नाममा गोही छाडिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा प्रजनन केन्द्रका प्रमुख वेदबहादुर खड्काले जानकारी दिए ।
जल र जंगलमा आश्रित हुँदै आएका ती समुदायलाई गोही संरक्षणप्रति जिम्मेवारी बोध गराउन पहिलो प्रयोगस्वरुप उनीहरुकै नाममा यसरी प्राकृतिक बासस्थानमा गोही छाडिएको हो ।
विश्वमै अति–संकटापन्न अवस्थामा पुगेको छ, घडियाल गोही । त्यस प्रजातिको संरक्षण चुनौती बन्दै गएको छ । केही वर्षअघिसम्म नेपालका ठूला नदीमा पाइने घडियाल गोही चितवन र बर्दियामामात्र सीमित हुन पुगेको छ ।
अहिलेसम्म निकुञ्जमा पालिएका एक हजारभन्दा बढी गोही छाडिएपनि नदीमा गोही नगन्य छन् । निकुञ्जमा गोही प्रजनन् केन्द्र नहुँदो हो त नेपालमा यो प्रजाति लोप भइसक्ने थियो ।
नदीमा गोहीको संख्या घट्दोक्रममा रहेकाले संख्या बढाउन यसरी पालिएका गोही नदीमा छाड्ने गरिएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए ।
एक हजारभन्दा बढी गोही नदीमा छाडिएपनि पछिल्लो अनुगमनमा नेपालका नदीमा घडियाल गोहीको संख्या १९८ गणना गरिएको छ ।
निकुञ्जको गोही प्रजनन् केन्द्रमा हुर्काएर नदीमा छाड्ने गरिएपनि करिब १० प्रतिशतमात्रै बाँच्ने गरेको छ । पछिल्लोपटक बर्दियामासमेत गोही प्रजनन् हुन थालेको छ ।
प्रदूषित पानी, माछाको अभाव तथा बगेर भारत पुग्नेलगायतका कारण पनि गोही लोप हुँदै गएको पाइन्छ ।
यसपटक छाडिएका गोही करिब ६ देखि ७ वर्षका छन् । यसअघि, फागुन २ गते पनि उक्त नदीमा २४ ओटा गोही छाडिएको थियो ।
गोही नदीमा छाड्दै क्षेत्रीय वन निर्देशक शिवकुमार वाग्लेले पानीमा गोही पाउनु सफा पानीको सूचक भएको र पारिस्थितिक प्रणालीमा यसको उपस्थितिको ठूलो महत्व रहेको उल्लेख गरे ।
निकुञ्ज आसपास पानीमा आश्रित समुदाय बोटे, माझी, मुसहरलाईसमेत सहभागी गराएर उनीहरुकै नाममा गोहीलाई नदीमा छाडिँदा ती समुदायमा संरक्षणप्रति चासो बढ्ने आशा राखिएको अर्यालले बताए ।
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका संरक्षण अधिकृत सन्तोष भट्टराई समुदायसँगको सहकार्यमा विगतदेखि नै संरक्षण कार्यक्रम अघि बढाइँदै आइएको सन्दर्भमा अहिले बोटे, माझी, मुसहरलाई सहभागी गराउँदा कार्यक्रम थप प्रभावकारी हुने बताउँछन् ।
निकुञ्जका सहायक संरक्षण अधिकृत तथा प्रजनन् केन्द्रका प्रमुख खड्काकाअनुसार हाल प्रजनन केन्द्रमा ५९५ गोही रहेका छन् । यो वर्ष करिब १०० गोही प्राकृतिक बासस्थानमा छाड्ने योजना छ ।
प्रतिक्रिया दिनुहोस्