Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


कपिलबस्तुको सीमा नाकामा वृहत सरसफाई, दुवै देशका सुरक्षाकर्मी मिलेर सफा गरे


0
Shares

प्रजातन्त्र दिवसको अवसरमा जिल्लाकोे सीमा नाका मर्यादपुर (खुनुवा) को सीमा क्षेत्रमा संयुक्त सीमा सरसफाई अभियानअन्तर्गत सोमबार सरसफाई गरिएको हो ।

सशस्त्र प्रहरी, भारतीय एसएसबी, प्रगति महिला किसान सेवा समिति खुनुवा र स्थानीयको सहभागितामा सीमा नाकामा सरसफाइ गरिएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट मर्यादपुरका सशस्त्र प्रहरी निरीक्षक अमृत दुलालले बताए ।

नेपाल–भारत सीमा क्षेत्रमा फालिएको फोहोरको दुर्गन्धबाट नेपाल र भारतीय नागरिकसमेत प्रभावित भएपछि सरसफाई अभियानलाई तिव्रता दिइएको उनले बताए ।

सीमामा खटिएका भारतीय सशस्त्र सीमा बल खुनुवाका उपनिरीक्षक रमेश कुमारको नेतृत्वमा १५ जना र नेपालतर्फबाट सशस्त्र प्रहरी बल मर्यादपुरका प्रहरी निरीक्षक अमृत दुलालको नेतृत्वमा २१ जना तथा स्थानीय तथा प्रगति महिला किसान सेवा समितिका अध्यक्ष प्रमिला मिश्रको नेतृत्वमा ३० गरी ६६ जनाको सहभागितामा सरसफाई गरिएको थियो ।

सशस्त्र प्रहरीको पहलमा थालेको सरसफाई अभियानले सीमा क्षेत्रमा सरसफाई अभियान संचालन गर्नु सकारात्मक भएको भन्दै स्थानीय अगुवाहरुले प्रसंशा समेत गरेका छन् ।

दसगजा क्षेत्रमा फोहोर फाल्न नपाउने कानुनी प्रावधान भए पनि नगर विकास, विस्तार तथा फोहोर मैला व्यवस्थापन गर्ने जिम्मा पाएको स्थानीय गाउँपालिकाले यसमा ध्यान दिएका छैनन् ।