
धनगढी सघन शहरी विकास कार्यक्रमअन्तर्गत सबैभन्दा पहिले कार्यान्वयन गरिएको चक्रपथ निर्माणको कामले गति लिएपछि डुबानबाट छुटकारा पाउने आशाले स्थानीय हर्षित भएका हुन् ।
कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न वडालाई जोड्न चक्रपथ निर्माणको कामले गति लिएको छ । झन्डै ९ किलोमिटरको चक्रपथ निर्माणको कामले गति लिएपछि स्थानीयबासी खुशी भएका हुन् । चक्रपथ निर्माणको कामलाई सहयोग गर्न आफ्नो जग्गासमेत उपलब्ध गराइरहेको वडा नम्वर–३ का डबलबहादुर चौधरीले बताए ।
चक्रपथ निर्माणपछि उपमहानगरपालिकाभित्र हुने डुबानको समस्या समाधान हुने आशा स्थानीयको छ । वर्षाको समयमा डुबानको पीडा सम्झेर पनि चक्रपथ निर्माणमा सहयोग गर्नेहरुको संख्या बढ्दै गएको स्थानीय गंगालाल पोखरेलले बताए ।
चक्रपथ निर्माणका क्रममा गुणस्तरलाई पनि उत्तिकै ध्यान दिइएको छ । आफ्नो घरआँगनमा हुन थालेको विकास निर्माणको काममा सबैको चासो रहेको र सहयोगी भूमिका निर्वाह गरिरहेको स्थानीय धनपति लामिछाने बताउँछन् ।
आयोजना निर्माणको ठेक्का पाएको केएस कन्स्ट्रक्सनका इन्चार्ज विक्रम स्वाँरले अहिलेसम्म २५ प्रतिशत काम सकिएको र निर्धारित समयभन्दा अगावै काम सक्ने बताए ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बलबहादुर ऐरले चक्रपथ निर्माणको कामलाई गुणस्तरीय बनाउन अनुगमन भइरहेको बताए ।
चक्रपथ निर्माण सम्पन्न भएसँगै धनगढी उपमहानगरपालिकाभित्रको डुबानको समस्या त समाधान हुन्छ नै, धनगढीलाई आधुनिक शहरको रुपमा विकास गर्नसमेत सहयोग पुग्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्