१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


मधेसकेन्द्रित दललाई सरकारमा ल्याउन पहल जारी


0
Shares

सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेको स्थायी कमिटीले संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग थप परामर्श गरी मन्त्रिमन्डल विस्तार गर्ने निर्णय गरेपछि दुई पक्षबीच अनौपचारिक छलफल भएको छ ।

एमाले नतृत्वले बुधबार समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेको थियो ।

उक्त छलफल निकै सकारात्मक बनेपछि मधेसकेन्द्रित दलले उठाएका सवाललाई कसरी सम्बोधन गर्ने भन्नेबारे नेताहरुबीच छलफल जारी छ ।

आफ्नो मुख्य मुद्दा संविधान संशोधनको सुनिश्चितता भए सरकारमा जाने संकेत दिएको समाजवादी फोरमलाई सहभागिता गराउन सरकारले पनि लचकता अपनाइ छलफल लम्ब्याएको छ ।

राजपालाई पनि सरकारमा सहभागी गराउने पहलस्वरुप अनौपचारिक छलफल भइरहेको स्वयं नेताहरु बताउँछन् ।

वाम गठबन्धनले आवश्यकता र औचित्यका आधारमामात्र संविधान संशोधन गर्ने जनाउँदै आएकाले वार्ता निर्णायक हुन नसकेको बुझिएको छ ।

एमाले सचिव प्रदीप ज्ञवालीले मधेसकेन्द्रित दललाई सरकारमा सहभागिता गराउनेबारे छलफल चलिरहेको तर कुनै निष्कर्षमा नपुगेको बताए । दुवै पक्षका नेताहरुबीच शुक्रबार पनि सामान्य कुराकानी भएको बताइएको छ ।

समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले वर्तमान सरकारमा जानेबारे सकारात्मक ढंगले छलफल भएपनि निष्कर्षमा नपुगिएको बताए ।

यसअघि, बिहीबार संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपाका अध्यक्षमन्डलका सदस्य शरत्सिंह भण्डारीले रासससँग कुरा गर्दै मधेसका मुद्दालाई सम्बोधन हुनेगरी संविधान संशोधनको सुनिश्चितता भए सरकारमा सहभागी हुनसक्ने जनाउ दिएका थिए । रासस