Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


नेपाल–भारत सम्बन्धमा नयाँ आयामको आवश्यकतामाथि जोड


0
Shares

‘एकीकृत विकास अध्ययन संस्था’ (आइआइडीएस)ले शुक्रबार राजधानीमा आयोजना गरेको ‘२१औं शताब्दीमा नेपाल–भारत सम्बन्धमाथि आकांक्षा र चुनौती’ विषयको कार्यक्रममा उनीहरुले द्विपक्षीय सम्बन्धका चुनौती समाधान गर्न नागरिकस्तरसम्म बहसको आवश्यकता रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहका नेपाल संयोजक डा. भेषबहादुर थापाले सदियौंदेखि सुमधुर रहँदै आएको र नयाँ युगमा नेपाल–भारतबीचको सम्बन्धमा थप विस्तारका लागि दुवै मुलुकबीचका सन्धि–सम्झौताको अध्ययन गर्न आवश्यक गृहकार्य भइरहेको जानकारी दिए ।

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह, भारतका सदस्य एवं जवाहरलाल नेहरु विश्वविद्यालयका प्रा. महेन्द्र पी लामाले सो विषयमा कार्यपत्र प्रस्तुत् गर्दै नेपाल–भारतबीचको सम्बन्धलाई द्विपक्षीय हितका विभिन्न आयाममा विस्तार गर्नसके दिगो हुने सुझाव दिए ।

संस्था सन्चालक परिषदका अध्यक्ष डा. मोहनमान सैंजुले अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वमै नयाँ आयाम विकास भइरहेका सन्दर्भमा नेपाल–भारतबीचको सम्बन्धलाई एकाकी नभइ बृहत् र बहुपयोगी बनाउनुपर्ने विचार व्यक्त गरे ।

संस्थाका कार्यकारी निर्देशक डा. विष्णुदेव पन्तले दुई मुलुकबीचका असान्दर्भिक सम्झौता पुनःविचार गर्नुपर्ने औंल्याए ।

कार्यक्रमका सहभागीले दुई मुलुकबीचका समस्या समाधानमा सरकारसँगै नागरिक समाज र विद्वत् समूहले पनि आवश्यक भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

प्रा. लामा नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको बैठकमा भाग लिन नेपाल आएका हुन् । समूहको बैठक शनिबारदेखि राजधानीमा सुरु हुँदैछ । रासस