
काठमाडौं, फागुन १२ । काठमाडौं पिंकाथन २०१८ अन्तर्गत हाफ म्याराथनतर्फको उपाधी सशस्त्र प्रहरीकी कान्छीमाया कोजुले जितेकी छन् ।
महिलाको स्वास्थ्य अवस्थाप्रति महिलालाई नै सचेत गराउने उद्देश्यले आयोजित काठमाडौं पिंकाथनको दोस्रो संस्करणमा २१ किलोमिटरको दुरी १ घण्टा २० मिनेट २१ सेकेन्डमा पार गर्दै कान्छीमायाले लगातार दोस्रो पटक उपाधी कब्जा गरेकी हुन् ।
पिंकाथनको पहिलो संस्करणमा पनि कान्छिमाया नै विजयी भएकी थिइन ।
उपाधीसँगै कान्छिमायाले ६० हजार रुपैयाँ हात पार्दा दोस्रो भएकी त्रिभुवन आर्मीकी सरिता बासीले ४० हजार तथा तेस्रो भएकी नेपाल पुलिस क्लबकी पुष्पा भण्डारीले २० हजार रुपैयाँ हात पारिन् ।
प्रतियोगिताअन्तर्गत १० किलोमिटरतर्फ एपीएफकी सन्तोषी श्रेष्ठ पहिलो हुँदा आर्मीका बिन्द्रा श्रेष्ठ र रेशु बस्नेत क्रमशः दोस्रो र तेस्रो भए ।
पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार पुरस्कार प्राप्त गरे ।
२५ सयभन्दा बढी महिलाले सहभागिता जनाएको प्रतियोगितामा ५ किलोमिटरतर्फ दीपा न्यौपाने, मानबती बस्नेत र अर्पना चौधरी क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।
यस्तै, ३ किलोमिटरतर्फ क्रमशः चन्दना गुरुङ, काजल बिष्ट र दिलकुमारी छन्त्याल पहिलो, दोस्रो र तेस्रो भए ।
बलिउड सुपर मोडल मिलिन्द सोमनको लोकल्याणकारी संस्था युनाईटेड सिस्टर्स फाउन्डेसनले महिलामा हुने स्तन क्यान्सरविरुद्ध जनचेतना जगाउने उद्देश्यले भारतका विभिन्न ८ शहरमा यो दौड गर्दै आएकोमा गत वर्षदेखि काठमाडौंमा पनि यसको आयोजना सुरु गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्