
गाउँमा स्वास्थ्यचौकी स्थापना भएपनि औषधिको अभाव छ । त्यसमाथि उपकरण र दक्ष चिकित्सक नहुँदा कयौं मानिस अल्पायुमै मर्ने गरेका छन् ।
यस्तो अवस्थामा कतिपय दुर्गम ठाउँमा स्वयंसेवी संस्थाले स्वास्थ्य शिविर सन्चालन गरेर राहत दिने गरेका छन् ।
प्रदेश नम्बर–४ को अस्थायी राजधानी पोखराबाट झन्डै एक दिनको कच्ची मोटरबाटो छिचोलेर पुग्नसकिने रुकुम र प्यूठानसँग सिमाना जोडिएको बाग्लुङको दुर्गम मिसिखोलामा आँखा शिविर र महिलाको पाठेघरको निःशुल्क उपचार गर्न स्वास्थ्यकर्मीको टोली यहाँ पुगेको हो ।
स्वास्थ्य सेवा लिएर पुगेको आयोजक संस्था गरिबी निवारणका लागि शान्ति र विकासका साथै ह्यान्ड्स फर नेपाल र स्वास्थ्यकर्मीहरुलाई खुसीले गदगद भएर स्थानीयले पञ्चेबाजा बजाएर भव्य स्वागत गरेका थिए ।
तीनदिने स्वास्थ्य शिविरमा १५०० जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।
आर्थिक अभावका कारण उपचार गर्नबाट बन्चित पाठेघरको रोग पालेर बसेका यहाँका ६०० महिलाको पाठेघरको परीक्षण गरिएको छ भने १०० जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।
आँखारोग विशेषज्ञ डा. कमलबहादुर खड्काले आँखा बन्द भएकाले दुर्गम क्षेत्रका धेरै बासिन्दाको जीवन नै बन्द हुने गरेको भन्दै आँखाको रोगबाट बच्ने उपायकाबारेमा परामर्शसमेत दिइएको बताए ।
दुर्गम ठाउँमा सन्चालन गरिएको शिविरले धेरैलाई राहत मिलेको थियो ।
पाठेघर रोग विशेषज्ञ डा. बिनु श्रेष्ठले दुर्गम क्षेत्रका महिलाहरुमा पाठेघर संक्रमणको जटिल समस्या देखिएको बताइन् ।
आँखा नदेख्नेहरुलाई देखाउने र अँध्यारोबाट उज्यालोतर्फको यात्रालाई संस्थाले निरन्तरता दिन शिविर आयोजना गरिएको आयोजकले जनाएको छ ।
निःशुल्क शिविरबाट विकट यो गाउँका धेरैजनाले आँखाको ज्योति पाएका छन् भने आङखस्ने रोगबाटसमेत धेरै महिलाहरुले मुक्ति पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्